नेपालका प्रशान्त राईले दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।
दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर ४२ केजीमुनि तौलसमूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। सेमिफाइनलमा उज्बेकिस्तानका खेलाडीसँग पराजित भएपछि उनी कांस्य पदकमा नै सीमित भएका हुन्।
एसियाली कुराश महासंघको आयोजनामा भएको प्रतियोगितामा प्रशान्तको तौलसमूहमा भारत, तुर्कमेनिस्तान, मंगोलिया, चाइनिज ताइपेई र कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। अर्का नेपाली खेलाडी नामसाहाङ सामसोहाङ जुनियर ५२ केजीमा प्रतिस्पर्धा गरेका थिए।
उनी पहिलो चरणको खेलमा नै मंगोलियाका खेलाडीसँग पराजित हुन पुगे। एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो। यसअघि सन् २०१८ मा थाइल्यान्डमा सम्पन्न एसियन च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि तौलसमूहमा कांस्य पदक जितेकी थिइन्। दक्षिण कोरियामा भएको च्याम्पियनसिपका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा भाग लिएका छन्।
प्रकाशित: १९ श्रावण २०८२ ०७:१२ सोमबार





