मच्छिन्द्र क्लबले जारी एन्फा यु-१६ युथ लिगमा आइतबार हिमालयन शेर्पा क्लबमाथि कठिन जित निकाल्दा संकटा र जावलाखेल युथ क्लब पनि विजयी भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको पहिलो खेलमा मच्छिन्द्रले हिमालयन शेर्पामाथि ३–२ को कठिन जित निकालेको हो। दिनको अन्तिम खेलमा संकटा क्लबले श्री भगवती क्लबलाई २–० ले हराउँदा जावलाखेल युथले सातदोबाटो युथ क्लबमाथि ७-० को गोलवर्षा गर्यो।
मच्छिन्द्र जितसँगै १० खेलबाट २३ अंक जोड्दै दोस्रो स्थामा उक्लिएको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छ। एन्फा कम्प्लेक्स मैदानमा मच्छिन्द्रको जितमा करण धामी, साइप्रस डंगोल र गोविन्द विकले गोल गरे। हिमालयन शेर्पाका जिनिल सुब्बा र युगेन खत्रीले गोल फर्काए।
खेलको चौथो मिनेटमै करणको गोलबाट मच्छिन्द्रले अग्रता लिएको हो। दुई मिनेटपछि नै साइप्रसले मच्छिन्द्रको अग्रता दोब्बर बनाए। त्यसपछि पहिलो हाफमा मच्छिन्द्र २–० ले अगाडि रह्यो। दोस्रो हाफमा भने हिमालयन शेर्पाले खेलमा फर्कने प्रयास गर्यो। शेर्पाले दुई गोल फर्काउँदा मच्छिन्द्रले तेस्रो गोल थप्यो।
जिनिलले ५६औं मिनेटमा हिमालयनका लागि गोल फर्काउँदै २–१ को स्थितिमा ल्याए। तर, ७०औं मिनेटमा गोविन्दले गोल गर्दै मच्छिन्द्रलाई ३–१ ले अगाडि बढाए। इन्जुरी सामयमा युगेनले गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यो पर्याप्त हुन सकेन।
दिनको अर्को खेलमा संकटालाई जित दिलाउन पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे। जितसँगै संकटा ११ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। पराजित श्री भगवती समान खेलबाट १० अंकका साथ दशौं स्थानमा छ। खेलको नवौं मिनेटमा पेम्बाको गोल मार्फत संकटाले अग्रता लिएको थियो।
४३औं मिनेटमा प्रजलले टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र संकटाले सहज जित निकाल्यो। दिनको दोस्रो खेलमा जावलाखेलले सातदोबाटोमाथि फराकिलो जित निकाल्दा पूजन सुनारले दुई तथा समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा र विविधराज राईले समान एक गोल गरे।
जितसँगै १० खेलबाट १३ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ। सातदोबाटोको भने यो दशौं हार हो। खेलको चौथो मिनेटमा समीरको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो। आठ मिनेटपछि नै प्रिन्सले टोलीको अग्रता दोब्बर बनाए।
विशालले २८औं मिनेटमा जावलाखेलका लागि तेस्रो गोल गरे। ४५औं मिनेटमा सुमितले गोल गरे। पहिलो हाफको थप समयमा विविधले गोल गरे र पहिलो हाफमै जावलाखेल ५–० ले अगाडि बढ्यो। पूजनले ६७औं र ६९औं मिनेटमा गोल गरे। यसपछि थप गोल हुन सकेन र जावलाखेलले सातदोबाटो युथमाथि ७–० को सानदार जित निकाल्यो।
प्रकाशित: १९ श्रावण २०८२ ०७:३० सोमबार





