२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

१५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग भारत पराजित

भारतीय क्रिकेट टोलीले १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग टेस्ट म्याचमा हार बेहोरेको छ।

कोलकाताको इडेन गार्डेन्समा भएको पहिलो टेस्टमा १२४ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा भारत ३० रनले पराजित भएको हो।

यो लज्जास्पद हारसँगै भारत दुई खेलको सिरिजमा १-० ले पछि परेको छ। खेलका नायक दक्षिण अफ्रिकी स्पिनर साइमन हार्मर बने। उनले घातक बलिङ गर्दै भारतको जितको सपना चकनाचुर पारे।

१२४ रनको लक्ष्यमा ९३ रनमै समेटियो भारत

जितका लागि १२४ रनको लक्ष्यसहित दोस्रो पारी सुरु गरेको भारतले खराब ब्याटिङ प्रदर्शन गर्‍यो। टोली ३५ ओभरमा मात्र ९३ रन बनाएर अलआउट भयो।

भारतका लागि वाशिङ्टन सुन्दरले सर्वाधिक ३१ रन बनाए भने रवीन्द्र जडेजा र अक्षर पटेलले समान २६ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यान चल्न सकेनन्।

यशस्वी जैसवाल शून्यमा आउट भए भने केएल राहुलले मात्र १ रन जोडे। पहिलो पारीमा घाइते भएका कप्तान शुभमन गिल ब्याटिङका लागि मैदान उत्रिन सकेनन्, जसले गर्दा भारतले एक ब्याट्सम्यान कम खेलाउनु परेको थियो।

दक्षिण अफ्रिकाको जितमा स्पिनर साइमन हार्मर ‘गेम चेन्जर’ साबित भए। उनले दोस्रो पारीमा मात्र २१ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए।

उनलाई मार्को जेन्सेन र केशव महाराजले २-२ विकेट लिएर उत्कृष्ट साथ दिए। हार्मरले खेलभर कुल ८ विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि, दक्षिण अफ्रिकाले पहिलो पारीमा १५९ र दोस्रो पारीमा १५३ रन बनाएको थियो। भारतले आफ्नो पहिलो पारीमा १८९ रन बनाउँदै ३० रनको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन र अन्ततः खेल गुमाउन पुग्यो।

प्रकाशित: ३० कार्तिक २०८२ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App