२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

दोर्पा बुवालुङले जित्यो नगरस्तरीय भलिबलको उपाधि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता दोर्पा बुवालुङले जितेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित माध्यमिक विद्यालय लफ्याङमा आयोजित प्रतियोगितामा नेर्पालाई हराउँदै बुवालुङ विजयी भएको हो।

विद्यालयको ६५ औँ स्थापना दिवस तथा १४ औँ अक्षयकोष दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेर्पामाथि शानदार सोझो सेटमा जित निकाल्दै बुवालुङ २५ हजार नगदसहित ट्रफीको हकदार बनेको हो। खेलको सुरुवातदेखि नै नेर्पालाई दबाबमा राखेको बुवालुङले पहिलो, तेस्रो र चौथो सेट जित्दा नेर्पा एक सेटमै सीमित हुन पुग्यो।

प्रतियोगिता विजेता बुवालुङलाई सो विद्यालयका पूर्व विद्यार्थी तथा छिमेकी साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले नगद २५ हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। उपविजेता नेर्पालाई लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईले १५ हजार नगदसहित ट्रफी प्रदान गरे। प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका ११ टिमको सहभागिता रहेको थियो।

स्थापना दिवसको अवसरमै आयोजित नगरभरिका विद्यालयहरूबीच भएको माविस्तरीय खुला नृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलकी सुजता राई प्रथम भइन्। त्यस्तै पञ्च मावि दिक्तेलका प्रतीक आचार्य दोस्रो र सरस्वती मावि पाथेकाकी अनिता सार्की तेस्रो भइन्।

नृत्यतर्फका विजेता र उपविजेता कलाकारहरूलाई निर्णायक मण्डलका सदस्यहरू अन्योल राई, रशा प्रधान र सुमन खड्काले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे। नृत्य प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको आयोजक विद्यालयले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा स्वर्गीय बुवा–आमा नरबहादुर कटवाल र विष्णुमायाको स्मृतिमा छोरा नरेश कट्वालले ५१ हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन्। प्रातस्मरणीय बाउ आमाको सम्झनालाई सधैँ जिवित राख्दै बालबालिकाको शैक्षिक भविष्य उज्वल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिदिएको कट्वालले बताए।

विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रकुमार राईका अनुसार सो विद्यालयमा कट्वालकोसहित गरेर अक्षयकोषको सङ्ख्या १६ वटा पुगेको छ। विभिन्न व्यक्तिहरूले बेलाबेलामा स्थापना गर्दै लगेको अक्षयकोषको रकम हालसम्म २२ लाखभन्दा बढी पुगेको पनि प्रअ राईले बताए।

विहीबार सुरु भएर शनिबार सम्पन्न ३ दिवसीय वार्षिकोत्सव कार्यक्रममा खेलकुद, नृत्यलगायत विभिन्न गतिविधिका सहभागीलाई पुरस्कार दिइनुका साथै अक्षयकोष स्थापक र संरक्षकलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०८२ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App