विजयी स्पोटर्स क्लब र लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिगको पहिलो खेलमा गोलरहित बराबरीको नतिजा सामना गरेका छन्।
मकवानपुरको हेटौंडास्थित गौरिटार रंगशालामा बुधबार भएको समूह ‘ए’ को खेलमा विजयी स्पोटर्स र लालीगुराँसले गोलरहित बराबरी खेलेका हुन्। दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा १/१ अंक बाँडेका छन्। त्यसअघि बुधबार नै भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लबले देउराली युथ क्लबमाथि ४–१ को सहज जित निकाल्यो। समूह ‘ए’ कै खेलमा चित्लाङले भने पहिलो खेलबाट तीन अंक बटुलेको छ। एन्फा प्रेसिडेन्ट लिगमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ।
सेमिफाइनल पुग्ने चारै टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन्। मंसिर २ सम्म चल्ने प्रतियोगिताको दोस्रो दिन समूह ‘बी’ का दुई खेल हुनेछन्। पहिलो खेलमा हैरान्स क्लबले काँक्रे बिहार युथ क्लबको सामना गर्नेछ। दोस्रो खेलमा टाइगर्स टिमले गाईघाट एफसीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले म्याच रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। सो अवसरमा उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा र महासचिव किरण राई उपस्थित थिए।
प्रकाशित: २० कार्तिक २०८२ १०:१० बिहीबार





