८ वैशाख २०८१ शनिबार
खेल

अझै हाम्रो मनोबल घटेको छैन-पाकिस्तान

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले जिम्बाब्वेसँगको हारपछि आफ्नो टोलीको आलोचना भइरहे पनि त्यसलाई बेवास्ता गर्ने र आगामी खेलमा केन्द्रित हुँदै ट्वान्टी-२० विश्वकप २०२२ को सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्नुपर्ने बताएका छन्।

पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग पराजित पाकिस्तान दोस्रो खेलमा कमजोर मानिएको जिम्बाब्वेसँग १ रनले स्तब्ध भएसँगै सुपर १२ बाटै बाहिरिने खतरा बढेको छ। पाकिस्तानले तेस्रो खेलमा आइतबार पर्थमा नेदरल्यान्ड्सको सामना गर्नेछ।

पाकिस्तानका पूर्वखेलाडी सोयब अख्तर र जाभेद मिनदादले पाकिस्तान जारी विश्वकपमा उत्कृष्ट लयमा नरहेको र टोलीले जिम्बाब्वेविरुद्ध निकै खराब ब्याटिङ प्रदर्शन गरेको आरोप लगाएका थिए। ‘मानिसहरूको काम आलोचना गर्नु हो र उनीहरू के भन्छन् भनेर चिन्तित भएर बस्ने समय हामीसँग छैन,’रौफले भने, ‘तपाई जुनसुकै खेलमा जानुस् त्यहाँ अवश्य आलोचना हुन्छ। हामी यहाँ ट्वान्टी-२० विश्वकप खेल्न आएका हौं र हाम्रो लक्ष्य उपाधि नै हो र त्यसमा मात्र केन्द्रित हुनुपर्छ।’

पूर्व खेलाडीले आफूहरूको प्रदर्शनबारे के भन्छन् भनेर टोलीले ध्यान नदिने पनि उनले बताए। ‘हाम्रा पूर्व खेलाडीले हाम्रो प्रदर्शन बारेमा के भन्छन् भनेर सुनेर बस्दैनौं। हाम्रो स्वभाविक लयमा फर्कन हामी केन्द्रित छौं,’रौफले भने, ‘हामीले पछिल्ला दुई खेलमा लय भेट्टाउन सकेनौं। हामीविरुद्ध गरिएका सकारात्मक वा नकारात्मक प्रतिक्रिया सुनेर बस्ने समय हामीसँग छैन।’

मेलबर्न क्रिकेट मैदानमा प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतविरुद्ध जितनजिक पुगे पनि अन्तिम ओभरमा बलरले लय गुमाएसँगै पाकिस्तान निराश बनेको थियो। त्यसपछि पाकिस्तानले ११औं वरीयताको जिम्बाब्वेविरुद्ध जितसहित प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्य लिए पनि त्यसले पूर्णता पाएन। जसका कारण टोलीमाथि दबाब बढेको छ। जिम्बाब्वेविरुद्ध अन्तिम २ बलमा जितका लागि ३ रन आवश्यक हुँदा अनुभवी पाकिस्तान मात्र २ रन जोड्न सफल भयो। रौफले लगातारको दुई हारपछि पनि टोलीको मनोबलमा भने कुनै कमी नआएको दाबी गरे।

‘हामीले सोचेअनुरूपको सुरुआत गर्न सकेनौं। तर, टोलीको मनोबल घटेको छैन,’रौफले भने, ‘पक्कै पनि हारले केही निराश त बनाएको छ। तर टोलीलाई आफ्नो क्षमतामा पूर्ण रूपमा विश्वास छ। पछिल्ला दुई खेलमा गरेको गल्ती सुधार गर्नेमा हामी केन्द्रित छौं। विश्वकप हो। यहाँ कुनै पनि टोली बलियो र कमजोर भन्ने हुँदैन। यहाँ सबै उत्कृष्ट टोली हुन्छन्। यहाँ सबै विश्वकपको उपाधि जित्नै आएका हुन्। नेदरल्यान्ड्सका प्रशिक्षक रेयान कुकले पाकिस्तानको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताए। ‘पाकिस्तान राम्रो टोली हो। तर, उनीहरूलाई हराउनै सकिँदैन भन्ने छैन,’कुकले भने, ‘आशा छ, टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ।’

प्रकाशित: १३ कार्तिक २०७९ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App