८ वैशाख २०८१ शनिबार
खेल

निसिमको निधनले आर्मीको सफलता खल्लो

नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो। यसै पटकबाट च्याम्पियन टोलीका लागि रनिङ सिल्डको समेत व्यवस्था गरियो। तर सर्वाधिक एक सय ७२ स्वर्ण पदकसहित रनिङ सिल्ड उठाएको आर्मीका लागि आफ्ना खेलाडी निसिम थापा मगरको निधनले यो प्रतियोगितामा प्राप्त सफलतालाई नै खल्लो बनाइदिएको छ। नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन असोज २८ गते सुरु भए पनि त्यसअघि नै विभिन्न खेल सुरु भइसकेका थिए। केही खेलमा पदकको समेत टुङ्गो लागिसकेको थियो।

असोज ३० गते प्याराग्लाइडिङतर्फको खेल हुने तालिका थियो। अघिल्लो दिन मात्र खेलाडीहरूले प्रशिक्षण उडानसमेत गराएका थिए। प्रतियोगिताको पहिलो दिन क्रस कन्ट्रीतर्फ आर्मीका निसिमले उडान भरे, जुन स्वयं उनका लागि भने अन्तिम उडान बन्यो अनि नेपाली खेलकुदका लागि एउटा कालो दिन। करिब चार दशकपछि गण्डकीमा फर्किएको राष्ट्रिय खेलकुद यही एक घटनाले निकै खल्लो बन्यो। प्याराग्लाइडिङ, यस्तो खेल हो जसले सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा नेपाललाई पदकविहीन हुने स्थितिबाट जोगाएको थियो। जसलाई खेलकुद मन्त्रालय र राखेपले पदक सम्भावना भएको खेलका रूपमा राख्दै आएका छन् भने पर्यटन मन्त्रालयले खेल पर्यटनमा टेवा पुर्‍याउने खेल विधाका रूपमा लिएको छ।

निसिमले अघिल्लो दिन प्रशिक्षण उडान गरेका थिए, जसमा उनको र्‍याङकिङ आठौं स्थानमा थियो। सन् २०१९ को एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फ रजत पदक जित्दाका प्रशिक्षक योगेश भट्राई भन्छन्, ‘म प्राविधिक समितिमा भएकाले ऊसँग त्यसअघि सधैं कुराकानी हुने गरे पनि केही दिनदेखि भने राम्रो कुराकानी हुन पाएको थिएन। म खेलतालिका र खेलाडी व्यवस्थापनमा व्यस्त थिएँ भने उनी आफ्नो खेलमै केन्द्रित थिए। त्यस दिन निसिमले पहिलो उडान भरे। अन्य दिनझैं मैले गुड लक निसिम भनें, तर उनले कुनै जबाफ दिएनन्। सायद उनी खेलमा केन्द्रित भएकै कारण मैले भनेको कुरा सुनेनन्। तर निसिमले उडान भरेको केही क्षणमै त्यो दुर्घटना भयो।’

निर्माणाधीन घरको छतमा बजारिएका निसिमलाई उपचारका लागि पोखरा सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पताल पुर्‍याइएको थियो। जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। आठौं राष्ट्रिय खेलकुदमा पनि उनले क्रस कन्ट्रीमै रजत पदक जितेका थिए। त्यसका कारण पनि उनलाई यस पटक स्वर्ण पदकको प्रबल दाबेदारका रूपमा हेरिएको थियो।

‘निसिम दुर्घटनामा परेपछि केही क्षण त हामीले केही सोच्नै सकेनौं, उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे,’ भट्टराईले भने, ‘निसिमको निधन समग्र नेपाली खेलकुदकै लागि घाटा हो। उनी प्रचुर सम्भावना बोकेका खेलाडी थिए। जोसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव थियो। गण्डकी प्रदेशका लागि प्याराग्लाइडिङ पर्यटन विकासका लागि टेवा पुग्ने राम्रो माध्यम हो तर यही सम्पन्न खेलकुल महाकुम्भमा खेलाडीको मृत्युले प्रतियोगिता नै खल्लो बनाइदियो।’

भट्टराई खेलकुद मन्त्रालयले पोखरा रंगशालामा निसिमको सालिक बनाउने भनी गरेको निर्णय भने स्वागतयोग्य रहेको बताउँछन्।

‘राष्ट्रले खेलाडीका लागि गरेको यो विशेष सम्मान हो,’ भट्टराईले भने।

प्रकाशित: ५ कार्तिक २०७९ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App