coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदको उद्घाटनको पूर्वसन्ध्यामा पोखरा रगशाला। तस्बिर: उमेश पुन/नागरिक

लामो समयको प्रतीक्षापछि शुक्रबारबाट गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै छ। विसं २०७६ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो। त्यसो त विसं २०७७ मै गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरे पनि कहिले कोभिड त कहिले स्थानीय चुनावका कारण सर्दै आएको प्रतियोगिता शुक्रबारबाट औपचारिक रूपमा सुरु हुनेछ।

प्रदेश संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना हुन लागेको यो दोस्रो पटक हो। तथापि, संघीय संरचनाअनुरूप जिल्लास्तरबाटै छनोट भएको चाहिँ पहिलो पटक हो। यद्यपि, विसं २०७५ सालमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रदेश संरचनामा गरिए पनि छनोट भने सम्बन्धित प्रदेशबाट भएको थिएन। यस पटकबाट भने खेलाडी छनोटको जिम्मासमेत सम्बन्धित प्रदेशलाई दिइएको थियो। आजबाट प्रतियोगिताको औपचारिक उद्घाटन हुने भए पनि प्रतियोगिताका खेलहरू भने आइतबारबाटै सुरु भइसकेका छन्। नेपाल ट्वान्टी–२० लिगसँग मिति जुध्ने भन्दै पुरुष क्रिकेट भने भदौ ३१ मा काठमाडौंमा सम्पन्न भइसकेको छ।

पुरुष क्रिकेटमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण पदक जितेको थियो। पुलिसले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम इभेन्ट्सतर्फको पहिलो स्वर्ण हो। व्यक्तिगतमा भने बाग्मती प्रदेशकी शिक्षा नापितले आइतबार फेन्सिङको महिला साबरतर्फ जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले थुप्रै चुनौतीका बावजुद पनि तयारी सम्पन्न भएको बताए ।

‘हामी प्रतियोगिताको संघारमा छौ,’ घिसिङले भने, ‘प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। यद्यपि, वर्षाका कारण भने तयारीमा केही असर पर्‍यो।’ प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बताइए पनि राष्ट्रपतिको अस्वस्थताका कारण उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले उद्घाटन गर्ने तालिका रहेको छ। उद्घाटन आज चार बजे पोखरा रंगशालामा हुनेछ। जहाँ, एथलेटिक्सका पूर्वखेलाडी टीकाबहादुर बोगटीले ओलम्पिक टर्च बाल्ने तालिका छ। प्रतियोगितामा जहाँ सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको एक टोली गरी ११ टोलीका ६ हजार १ सय ५९ खेलाडीले कुल तीन सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्।

‘धेरै प्रतियोगिता पूर्वनिर्धारित समयमै सुरु भैसकेका छन्,’ घिसिङले भने, ‘कास्कीभन्दा बाहिर गोरखा र म्याग्दीमा पनि प्रतियोगिता भइरहेका छन्। उद्घाटन समारोह अवलोकन गर्नका लागि सर्वसाधारणका लागि खुला गरिनेछ।

हामीले यस पटकबाट रनिङ ट्रफीको अवधारणा ल्याएका छौं। सातवटै प्रदेशमा ट्रफी टुरसमेत गराएका थियौं। पदकतालिकाको शीर्ष स्थानमा रहने टोलीलाई ट्रफी हस्तान्तरण गर्छौं।’

घिसिङले पुरुष फुटबलमा एनआरएन टोलीले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी खेलाएका कारण सिर्जना भएको विवादतर्फ संकेत गर्दै त्यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार अनुसन्धान समितिलाई रहेको बताए। प्रतियोगितामा सहभागी टोलीले खेलाडी दर्ता गर्न पाउँछ, तर ती खेलाडी सम्बन्धित टोलीबाट खेल्ने अधिकार राख्छन् वा राख्दैनन् भन्ने निर्णय अनुसन्धान समितिले गर्नेछ।

व्यवस्था परिवर्तनले प्रभावित,महत्त्वाकांक्षी आयोजना

चार दशकभन्दा बढी इतिहास बोकेको राष्ट्रिय खेलकुदको नवौं संस्करणको औपचारिक सुरुआत शुक्रबारदेखि पोखरा रंगशालामा हुँदै छ। हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद गरिने परम्परासहित तत्कालीन नेपाली खेलकुद प्रशासकले वि.सं. २०३८ सालमा काठमाडौंमा पहिलो पटक बृहत् राष्ट्रिय खेलकुद सुरु गरेका थिए।

नियमित रूपमा आयोजना हुँदो हो त ४१ वर्ष मनाउँदै गरेको राष्ट्रिय खेलकुद अहिले २१औं संस्करणको तयारीमा जुट्नुपर्ने हुन्थ्यो। यद्यपि, देशमा व्यवस्था परिवर्तनका लागि कयौं संघर्ष भए। त्यसको नकारात्मक प्रभाव खेलकुदमा पर्‍यो।

पहिलो तीन संस्करण सोही योजनाअनुरूप दुई वर्षको अन्तरमा पनि भए। पहिलो संस्करणमा देशका १४ अञ्चलका टोलीले प्रतिस्पर्धा गरेका थिए। कुल १६ खेल स्पर्धा खेलाइएको थियो। जहाँ करिब १५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसपछिका दुई संस्करण पनि निर्धारित समयमा क्रमशः पोखरामा २०४० र वीरगन्जमा वि.सं २०४२ सालमा सम्पन्न भए।

यी दुई संस्करणमा पनि अञ्चलका टोलीले प्रतिस्पर्धा गरेका थिए। तर, त्यसपछि भने राष्ट्रिय खेलकुदको मर्म र योजना अनुरूप हुन सकेन। देशमा व्यवस्था परिवर्तन र आन्तरिक द्वन्द्वका कारण नियमित राष्ट्रिय खेलकुद हुन सकेनन्। विभिन्न राजनीतिक पार्टीहरूले पञ्चायती व्यवस्थाको अन्त्यका लागि आन्दोलन गरे। वि.सं.२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गर्‍यो। देशमा परिवर्तनका लागि संघर्ष चलिरहँदा त्यसको प्रभाव नेपाली खेलकुदमा पनि पर्न गयो।

चौथो संस्करणको आयोजना हुन १३ वर्ष कुर्नुपर्‍यो। वि.सं.२०५५ सालमा नेपालगन्जमा चौथो संस्करणमा भयो। यसमा पहिलो पटक विभागीय टोलीले प्रतिस्पर्धा गरे। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिससहित पाँच विकास क्षेत्रले प्रतिस्पर्धा गर्ने परम्परा सुरु भयो। यसअघिका तीन संस्करणमा अञ्चलले प्रतिस्पर्धा गर्थे। तर, यस संस्करणदेखि विकास क्षेत्र र दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्न थालेपछि प्रतिस्पर्धी टोली पनि घटे।

पहिलो संस्करणले पहिलो पटक नयाँ च्याम्पियनका रूपमा मध्यमाञ्चललाई पायो। त्यसपछि पाँचौं संस्करण हुन पनि १० वर्ष नै कुर्नुपर्‍यो। वि.सं. २०६५ सालमा काठमाडौंमा पाँचौं संस्करण टुँडिखेलमा झारा टार्ने किसिमले भएको थियो। यसै संस्करणदेखि अर्को विभागीय टोली एपिएफले सहभागिता जनाउन थालेको हो। देशमा फेरि अर्को विद्रोही शक्तिले व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेपछि फेरि खेलकुद प्रभावित भयो। यसपछिका तीन संस्करण भने ०६८ सालमा छैटौं, ०७३ सालमा सातौं र ०७६ सालमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न भए। पछिल्ला दुई संस्करणमा भने विभागीय टोली आर्मीले वर्चस्व राख्दै आएको छ।

यस पटक पनि नयाँ टोलीका रूपमा एनआरएनएले सहभागिता जनाउन थालेको छ। छैटौंमा तत्कालीन नेकपा माओवादी केन्द्रका पिएलएले सहभागिता जनाएको थियो। त्यसपछि भने त्यो टोली रहेन। हरेक पटक नयाँ टोली आए पनि स्थिर हुन सकेको छैन। साथै खेलकुदको प्रशासकीय निकायले पनि राष्ट्रिय खेलकुदको मूल मर्मअनुरूप व्यवस्थित तरिकाले आयोजना गर्न नसक्दा यो महत्त्वाकांक्षी आयोजना उपलब्धिमूलक हुन सकेको छैन।

प्रकाशित: २८ आश्विन २०७९ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App