८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

असोज २० मा नेपाल फर्कन्छुः सन्दीप

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले कानुनी लडाइँ लड्ने अठोटका साथ असोज २० गते नेपाल फर्किने बताएका छन्।

लामिछानेले सामाजिक सञ्जालमार्फत आफू कानूनी लडाइँ लड्ने अठोटका साथ नेपाल फर्किने तयारीमा रहेको बताएका हुन्। एक किशोरीले क्रिकेटर लामिछानेमाथि बलात्कारको आरोप लगाएकी थिइन्। गत भदौको पहिलो साता एक नाबालिगले सिनामंगलको एक होटलमा लगेर आफूमाथि पटकपटक बलात्कार गरेको सन्दीपमाथि आरोप लगाएकी थिइन्। त्यतिबेला केन्यामा क्रिकेट खेल्न पुगेका लामिछाने विदेशमा बसेका थिए। तर, उनले आफू निर्दोष रहेको दाबी गर्दै आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

‘बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ (असोज २०)मा गृह देश नेपाल आइपुग्दै छु,’उनले सामाजिक सञ्जालमा भनेका छन, ‘ममाथि लगाइएको झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु।’ लामिछानेले प्रहरीमा जाहेरी भएको आरोपमा आफू निर्दोष रहेको र न्याय प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै आफूमाथि निष्पक्ष व्यवहार हुने अपेक्षा पनि ब्यक्त गरेका छन्। ‘छिटोभन्दा छिटो न्याय पाउनेमा आशावादी छु,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्। लामिछानेले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्।

आफूमाथिको षड्यन्त्रको समयसँगै पर्दाफास हुने उनको दाबी छ। लामिछाने स्वदेश नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत उनलाई डिफ्युजन नोटिस जारी गरेको थियो। क्यानमा नेपालको खेल नसकिँदै सन्दीप फ्रेन्चाइज क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका थिए। क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेलाई नेपालमा पक्राउ पुर्जी जारी भएसँगै उनी त्यहाँबाट हिँडेका थिए। त्यसयता उनी नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रहरी दुवैको सम्पर्क बाहिर छन्। 

प्रकाशित: १६ आश्विन २०७९ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App