४ वैशाख २०८१ मंगलबार
खेल

ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु

ताप्लेजुङमा बिहीबार खुल्ला तथा महिला हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ। खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना सहभागी भएको म्याराथन व्यवस्थापन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले जानकारी दिए। 

उनका अनुसार खुुल्ला म्याराथनतर्फ सदरमुकामको पाथीभरा चौकबाट सुरु भएको दौड सुकेटार–देउराली–सेवारो चौक–काफ्लेपाटी–बलुडाँडा–माथिल्लो फेदी हुँदै ३ हजार हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा डाँडापुगेर पुन सोहि मार्ग हुँदै तोक्मेस्थित भीमकाली गुल्मको प्रांगणमा पुगेर टुंगिने छ।  

यस्तै महिला हाफ म्याराथनतर्फ पाथीभरा चौकबाट सुरु भएको दौड सुकेटार–देउराली–सेवारो चौक–काफ्लेपाटी हुँदै सोहि मार्ग हुँदै तोक्मेस्थित भीमकाली गुल्मको प्रांगणमा पुगेर टुंगिने छ। यो समाचार तयार पार्दासम्म खुल्लातर्फ पाँचथरका राजकुमार शेर्मा,खगेन्द्रबहादुर भाट,राजकुमार पयङ्गो र बेदबहादुर सुनुवार अग्रपंक्तिमा दौडिरहेका छन् भने महिला हाफ म्याराथनतर्फ ताप्लेजुङ मेरिङदेनकी सोमपाल्मु शेर्पा र चण्डीमाया राई अगाडि दौडिरहेका छन्।  

आयोजकले खुल्ला म्याराथन लागि सुकेटार,देउराली,तेर्से,काफ्लेपाटी,फेदी र पाथीभरा मन्दिर गरी ६ वटा चेक पोइन्ट बनाएका छन्। प्रतिस्पर्धीले प्रत्येक चेकपोइन्टमा पुगेपछि त्यहाँ रहेका स्वयंसेवकलाई परीक्षण गराई छाप लगाइसकेपछि मात्र फेरी दौडमा सहभागी हुन पाउने छन्। जाँदा र फर्कदा दुबै पटक प्रत्येक चेकपोइन्टमा परीक्षण र छाप लगाउनुपर्ने हुन्छ।  

त्यस्तै महिला हाफ म्याराथनका लागि सुकेटार,देउराली,तेर्से र काफ्लेपाटी गरी ३ वटा चेकपोइन्ट बनाइएको छ। खुल्ला जस्तै महिला हाफ म्याराथनका सहभागीले पनि जाँदा र फर्कदा प्रत्येक चेक पोइन्टमा परीक्षण र छाप लगाउनुपर्ने हुन्छ।  

यसअघि खुल्ला तथा महिला हाफ म्याराथनको नेपाली सेनाका सहायक रथी कृष्ण भण्डारी,प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,फुङलिङ नगरउपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक तारानाथ घिमिरे र पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लगायतले संयुक्त रुपमा शुभारम्भ गरेका थिए।  

प्रकाशित: १३ आश्विन २०७९ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App