८ वैशाख २०८१ शनिबार
खेल

नेसन्स लिग: पोर्चुगलको रवाफिलो जित

डिएगो डालोटले अन्तर्राष्ट्रिय करियरमा पहिलो दुई गोल गरेको दिन पोर्चुगलले नेसन्स लिगमा चेक रिपब्लिकमाथि ४–० को रबाफिलो जित दर्ता गरेको छ।

समूह ‘ए टु’ कै स्पेन घरेलु मैदान जारागोजामा स्विट्जरल्यान्डसँग २–१ ले स्तब्ध हुँदा सोही समूहको पोर्चुगलले भने सफलता पाएको हो। त्यो जितले पोर्चुगल स्पेनभन्दा दुई अंकले अगाडि छ। यी दुई छिमेकी राष्ट्रबीच आगामी मंगलबार ब्रागामा भेट हुनेछ र विजयी टोलीले आगामी जुनमा हुने अन्तिम चारको फाइनलमा स्थान बनाउनेछ। पोर्चुगलका लागि प्रागमा यादगार दिन बने पनि उसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि भने त्यो राति कठिन नै रह्यो। उनको नाकमा चोट लाग्दा रगत पनि बग्न पुग्यो।

नाकमा प्राथमिक उपचार गराएर रोनाल्डोले आफ्नो प्रदर्शन जारी नै राखे। सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता (११७ गोल) रोनाल्डोले एउटा पेनाल्टी पनि बेहोर्न पुगे। यद्यपि, चेक रिपब्लिकले त्यसको सदुपयोग गर्न भने सकेन। डालोटले ३३औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। उनले राफाइल लिआओको पास सदुपयोग गरे। ब्रुनो फर्नान्डेजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि रोनाल्डोले आफ्नो पेनाल्टी बक्समा ह्यान्ड गरे। तर चेक रिपब्लिकका प्याट्रिक सिकको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरियो।

दोस्रो हाफ सुरु भएको केही समयमा नै पोर्चुगलले अर्को गोल गर्‍यो। ५२औं मिनेटमा डालोटले नै दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को अग्रता दिलाए। पोर्चुगलका लागि चौथो गोल ८२औं मिनेटमा डिएगो जोटाले गरे। उनले रोनाल्डोको पास सदुपयोग गरे। गत वर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिपको सेमिफाइनल र नेसन्स लिगको फाइनलमा पुर्‍याएका प्रशिक्षक लुइस इनरिकको निर्णयमाथि पछिल्ला समय प्रश्न उठिरहेका छन्। उनले अप्रत्याशित रूपमा मार्को एसेन्सियोलाई पहिलो रोजाइमा खेलाए। यद्यपि, मार्कोले उनको क्लब रियाल मड्रिडमा सब्सिच्युटका रूपमा मात्र खेल्दै आएका छन्।

पूर्ण रूपमा इनरिकसँग अल्भारो मोराटा र नयाँ स्टार बोर्जा इगलसियस हुँदाहुँदै पनि उनले मार्काेलाई पहिलो रोजाइमा ल्याए। स्पेनको अट्याकिङ स्विस टोलीमाथि त्यति चुनौती बनाउन असफल रह्यो। स्पेनको डिफेन्सले कर्नरमा नै दुई गोल बेहोर्‍यो। आफ्ना खेलाडीले स्विट्जरल्यान्डलाई सहजै हराउन सकिन्छ भन्ने तवरले खेलेका कारण समस्या भएको इनरिकको भनाइ थियो। ‘उनीहरूले स्विट्जरल्यान्डलाई सहजै हराउन सकिन्छ भन्ने सोचे। यद्यपि, त्यो सत्य थिएन,’ इनरिकले भने, ‘उनीहरूले हाम्रा खेल खेल्नै दिएनन्। पहिलो हाफ हाम्रो राम्रो रहेन। तर, दोस्रो हाफमा केही सुधार गर्‍यौं। पोर्चुगलसँग सुधार गरेर खेल्नेछौं।’

इगलसियस र २० वर्षे निको विलियम्स सब्सिच्युटका रूपमा मैदान प्रवेश गर्दै स्पेनका लागि डेब्यु गरे। यद्यपि, निकोका दाई एवम् क्लबका सहकर्मी इनाकी विलियम्सले भने गत शुक्रबार घानाबाट डेब्यु गरेका थिए। स्विट्जरल्यान्डले आगामी मंगलबार सेन्ट गालेनमा चेक रिपब्लिकको आतिथ्यता गर्नेछ, जुन खेलमा विजयी टोलीले रेलिगेसन जोगाउनेछ। स्विट्जरल्यान्डसँग चेकको भन्दा दुई अंक बढी छ। त्यसैले पनि चेकमाथि धेरै दबाब हुनेछ। पोर्चुगल, स्पेन र स्विट्जरल्यान्ड तीनवटै राष्ट्रले आगामी नोभेम्बरमा हुने कतार विश्वकप पनि खेल्दै छन्।  

प्रकाशित: १० आश्विन २०७९ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App