५ वैशाख २०८१ बुधबार
खेल

खेलाडीको गुनासोपछि मन्त्री गुरुङद्वारा होटल अनुगमन, प्रोटिनयुक्त खाना व्यवस्था गर्न निर्देशन

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती अनुगमनको क्रममा तेक्वान्दो खेलाडीहरुको गुनासो सुन्दै। तस्बिर/ नागरिक

‘प्रशिक्षणको लागि पर्याप्त सामान छैन्। प्रदेश खेलकुद परिषद गण्डकीले दिएको भत्ता पर्याप्त छैन्। कम भत्ताकै कारण आवश्यक डाइटको व्यवस्था राम्ररी भएको छैन्।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती आफैं होटल अनुगमनमा निस्किए।  

शनिबार राती मन्त्री गुरुङसहित अनुगमन टोलीका सदस्यहरु तथा गण्डकी खेलकुद  परिषदका उपाध्यक्षको समेत सहभागितामा तेक्वान्दो(डब्लुटिएफ) बसेको होटल अनुगमन गरिएको थियो। अनुगमनमा खेलाडीहरुले पर्याप्त डाइट नपाएको गुनासो सुनाए। पृथ्वीचोकस्थित होटल हिलटनमा बसेका खेलाडीहरुसँग प्रत्यक्ष कुराकानी गर्दै मन्त्री गुरुङले गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए।  

प्रदेश खेलकुद परिषदले १२ सय रुपैयाँ प्रतिखेलाडी भत्ता उपलब्ध गराउँदै आएको छ। उपलब्ध भत्तामा कर कट्टा हुन्छ। करकट्टासहितको भत्ता होटललाई बुझाउने गरी व्यवस्था मिलाइएको छ। खेलाडीको गुनासो सुनेपछि मन्त्री गुरुङ होटलमै पुगेर प्रशिक्षक र होटल सञ्चालकसँग छलफल गरे। खेलाडीको असन्तुष्टी देखिएपछि प्रशिक्षक परशुनारायण बोहोरा एवं होटल सञ्चालकमाथि कडा रुपमा प्रस्तुत भए। ‘दिएको भत्ता सुविधाबाट खेलाडीले पर्याप्ट डाइट खान पाउनुपर्छ। डाइट खान नदिई पैसा बचाएर खेलाडीलाई दिने होइन्।’ मन्त्री गुरुङ आक्रोसीत हुदैं भने–‘खेलाडीले खान पाउनुपर्छ भनेरै म आफैं अनुगमनमा आँए। भत्ता जोगाउने होइन। पुगेन भनेर प्रशिक्षकलाई भन्ने हो। प्रशिक्षकले हामीलाई भन्ने हो। गुनासो सुनाउने हो। तर प्रशिक्षक नै भत्ता जोगाएर खेलाडीले दिने मानसिकता राख्नु हुदैन्।’  

मन्त्री गुरुङले खेलाडीको गुनासो सुनेपछि १४०० रुपैयाँ भत्ता उपलब्ध गराई डाइटको  व्यवस्था गर्न प्रशिक्षक र होटल सञ्चालकलाई निर्देशन दिए। ‘बिहान नास्ता (चना, अण्डा, दूध), विहान मासुसहतिको खाना, दिउँसो ओट्स, कप्लेक्स तथा फलफूलयुक्त खाजा अनि राती मासु भात खुवाउनुपर्छ।’ मन्त्रीले भने–‘यो मेन्यु अनुसारको सबै खेलाडीलाई खुवाउनुपर्छ। मेन्यु अनुसार नपुगेको भत्ता व्यवस्थापन गरिदिन्छौं।’ होटल सञ्चालकले पनि पैसा थपिएको अवस्थामा भनेकै मेन्युमा डाइटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।  

खेलाडीहरुले प्रशिक्षणको लागि आवश्यक सामान नै नभएको गुनासो गरे। ‘व्यक्तिगत प्रशिक्षण गर्ने सामान नै छैन्। कास्की जिल्ला तेक्वान्दो संघकै सामान प्रयोग गर्दै आएका छौं। जुन हामीलाई प्रशिक्षण गर्न पर्याप्त छैन्।’ खेलाडीहरुले सामूहिक गुनासो सुनाए–‘सामान नहुदाँ प्रशिक्षणपनि सोचे जस्तो भएको छैन्।’ हात र खुट्टामा लगाउने गार्ड, हेड गार्ड ,सिन गार्ड, गोईन गार्ड, चेष्ट गार्ड र टुथ गार्ड लगायतका सामान पर्याप्त नहुदाँ प्रशिक्षण प्रभावकारी हुन सकेको छैन्।  

महिला बास्केटबल खेलाडीहरुले होटलमा तीन दिनको बसाई राम्रो नभएको गुनासो गरे। त्यतिमात्रै नभई खेलाडीले पाउने सुविधाको ट्रयाकसुट समेत नपाइएको गुनासो उनीहरुको थियो। खेलाडीहरुले प्रशिक्षणको समयमा आवश्यक नर्मल सुज नहुदाँ समस्या भएको जिकिर गरे। ‘छनोट गेम चार दिन खेल्यौं। हामीले पाउनुपर्ने भत्ता पाएनौं।’ उनीहरुले गुनासो सुनाए–‘भत्ता केवल १५ सय मात्रै पाइयो। ट्रयाक सुट पाइएन्।’ ट्रयाक नपाएपछि त्यसको सट्टामा पोशाक भत्ता दिने भनिएपनि नपाएको दुखेसो पोखे। अनुगमनमा मन्त्री गुरुङसहित गण्डकी खेलकुद परिषदका उपध्यक्ष ध्वजकुमार गुरुङ, अनुगमन समितिका सदस्य डा. मधुसुदन सुवेदीसहित सदस्यहरु, सञ्चारकर्मी  लगायतका सहभागि थिए।  

प्रकाशित: ९ आश्विन २०७९ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App