८ वैशाख २०८१ शनिबार
खेल

कट्टर प्रतिद्वन्द्वी बिदाइका सारथि

विश्व पूर्वनम्बर एक रोजर फेडेरर र टेनिसकै लागि यो दिन र यो खेल आउनै पर्दथ्यो। हरेक खेलाडीको सपना हुन्छ, सक्रिय खेलजीवनबाट भव्य बिदाइ होस्। गत साता नै सक्रिय खेलाडी जीवनबाट अलग हुने फेडेररले घोषणा गरिसकेका थिए। ४१ वर्षे फेडेररको कुनै समय विश्व टेनिसमा एकछत्र राज थियो।

उनले लामो समय आफ्नो नाममा २०औं ग्रान्ड स्लामको कीर्तिमान पनि कायम राखे। फेडेररले लामो समयदेखिका आफ्ना चिरप्रतिद्वन्द्वी स्पेनका राफेल नाडालको जोडीको रूपमा शुक्रबार राती लाभर कपमा टिम युरोपको प्रतिनिधित्व गरे र अन्तिम पटक कोर्टमा उत्रिए पनि। एक समयका यी कट्टर प्रतिद्वन्द्वीको जोडीलाई फेडाल नाम दिइएको थियो। टिम वर्ल्डका फ्रान्सेस टाइफोइ र ज्याक सकविरुद्ध फेडालले नतिजा सुम्पिएसँगै फेडेररको सक्रिय खेलाडी जीवनमा पनि पूर्णविराम लाग्यो। फेडेरर र नाडालको जोडीले टाइफोई र सकको जोडीलाई ४–६, ७–६(२) र ११–९ ले नतिजा सुम्पियो।

तर, यो हारले ठूलो अर्थ राखेन। किनभने यो फेडेररको सुखद खेल जीवन बिदाइको क्षण हो, त्यसैले खेलको सुरुआतबाटै त्यहाँको माहोल भावुक पनि बनिरह्यो। फेडेरर बिदाइका लागि धेरै समर्थक पनि उपस्थित थिए। अन्य खेलाडी, कलाकार, उनका परिवारका सदस्य र समर्थक उनको बिदाइको क्षणमा विशेष पात्र थिए। ‘मेरो लागि समग्र टेनिस यात्रा यादगार रह्यो,’फेडेररले भने, ‘जुन मेरो जीवनको अभिन्न अंग हो।’ जब त्यो खेल सकियो, फेडेररका सक्रिय खेलजीवनमा समेत पूर्णविराम लाग्यो। खेल लगत्तै फेडेररले नाडाल, त्यसपछि टाइफोई र सकसँग अंकमाल गरे।

त्यससँगै फेडेरर निकै भावुक भए र उनको गहभरी आँसु भयो। यता, नाडाल पनि भावुक भए। लामो समयसम्म आफ्नो चिरप्रतिद्वन्द्वी रहेका फेडेररको बिदाइमा नाडालको आँसु पनि रोकिएन। ‘जब फेडेरर सक्रिय टेनिसबाट अलग भए, मेरो जीवनको अभिन्न अंग पनि अलग भयो,’ नाडालेले भने, ‘यो विश्व खेलकुदकै लागि यो दुखद दिन हो र अविस्मरणीय पनि।’ फेडेररले कार्टको बीचमा उभिएर आफ्ना समर्थक र त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्दै धन्यवाद मात्र भने। त्यसपछि उनको मुखबाटै बोली नै निस्किरहेको थिएन। फेडेररको खेल हेर्न उनकी पत्नी मिर्का, उनका चार सन्तान र उनका अविभावक पनि उपस्थित थिए।

‘यो मेरा लागि विशेष दिन हो। म खुुसी नै छु र दुःखी छैन,’फेडेररले भने, ‘मैले पुनः एक पटक कोर्टमा उत्रने अवर पाएँ, जुन अन्तिम पटक हो। मैले कोर्टमा गरेका हरेक गतिविधि अन्तिम नै थियो।’ फेडेरर चोटका कारण सन् २०२१ को विम्बल्डनको क्वार्टरफाइनलपछि पहिलो पटक कोर्टमा उत्रिएका हुन्। यस क्रममा उनले तीन पटक घुँडाको शैल्यक्रिया गराइसकेका छन्। ‘जब मैले यस खेलबाट अलग हुने निर्णय लिएँ। मेरा लागि त्यो कठिन निर्णय थियो र दुखद पनि,’फेडेररले भने, ‘अहिले भने मेरो निर्णय सही नै थियो जस्तो लाग्छ।’

विश्व टेनिसमा फेडेररले २० ग्रान्ड स्लामसहित पिट साम्प्रासको नाममा रहेको सर्वाधिक ग्रान्ड स्लामको कीर्तिमान तोडेका थिए। साम्प्रासको नाममा १४ ग्रान्ड स्लामको कीर्तिमान थियो। फेडेररले ६ पटक अस्ट्रेलियन ओपन, ८ पटक विम्बल्डन, पाँच पटक युएस ओपन र एक पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। नाडालको नाममा २२औं ग्रान्ड स्लामको कीर्तिमान छ भने नोभाक जोकोभिच(२१ ग्रान्ड स्लाम) ले उनलाई पछ्याइरहेका छन्।

प्रकाशित: ९ आश्विन २०७९ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App