coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘क्याडी’ को भन्दा कम भत्तामा खेल्दैछन् गल्फर

पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा चिपिङ प्राक्टिस गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका गल्फरहरु।

गल्फ आफैंमा महंगो खेल हो। गल्फरलाई एक क्याडी (क्लब सेट बोक्ने सहयोगी) अनिवार्य चाहिन्छ। सहयोगीलाई दैनिक भत्ता दिनुपर्छ। कोर्षको शुल्क दिनुपर्छ। त्यसले पनि महंगो पर्ने हो। आवश्यक खेल सामग्री पनि महंगो नै पर्छ। क्लब सेट किन्न एकलाख भन्दा बढी नै पर्छ। त्यसैले महंगो पर्छ। बललाई २५ सय रुपैयाँ पर्छ। एउटै प्रतिस्पर्धामा थुप्रै बल हराउँछ। जुन महंगो खेलको अर्को प्रमाण हो।

महंगो खेल गल्फलाई आगामी २८ गतेदेखि आयोजना हुने नवौं राष्ट्रिय खेलकुद  प्रतियोगितामा गण्डकी प्रदेशले भने सहयोग गरेको छ। गल्फरसँग खेल सामान आफ्नै छ। तर अत्यावश्यक बल समेत प्रदेश सरकारले उपलब्ध गराउन सकेको छैन्। खेलाडीले केवल दैनिक ५ सय रुपैयाँ भत्ता पाउँछन्। त्यसमा पनि कर कट्टा गरेर दिने निर्णय गण्डकी खेलकुद परिषदले गरिसकेको छ। खेलाडीले पाउने भत्ताले आफ्नो सहयोगीलाई समेत दिन नपुग्ने स्थितिमा छन्।

यद्यपि गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गल्फरहरुले घरेलु कोर्षमा स्वर्ण पदकको अपेक्षासहित आफ्नो प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन्। गल्फसँगै अन्य बन्द प्रशिक्षणमा रहेका अन्य खेलका स्थानीय खेलाडीलाई भत्ता स्वरुप ५ सय रुपैयाँ छुट्टाइएको छ।  

‘राष्ट्रिय खेलकुदमा प्रदेशले दिएको भत्ताले पुग्दैन। प्रदेश खेलकुद परिषदले उपलब्ध गराउने भत्ताले क्याडी शुल्क समेत पुग्दैन। डाइट खाने पैसा आफैंले जोहो गर्नुपर्ने बाध्यता छ। खेल सामान खास गरी बल समेत आफैंले किनेर खेल्नुपर्ने अवस्था छ,’ गण्डकी प्रदेश गल्फ टोलीका प्रशिक्षक भूबहादुर गुरुङ (भुवन) ले भने, ‘प्रदेशले दिनुपर्ने सुविधा गल्फलाई खासै छैन। सुविधा नभएपनि खेलाडीले निरन्तर प्रशिक्षण गरेका छन्। घरेलु कोर्षमा स्वर्णको अपेक्षा छ।’

उनका अनुसार क्याडीले प्रतिदिनको खेलमा न्यूनतम ६ देखि ८ सयसम्म पाउँछन्। खेलाडीको सेवा सुविधा मात्रै होइन गल्फ कोर्ष मर्मत सम्भार गर्न समेत प्रदेश खेलकुद परिषद गण्डकीले पैसा नै दिएको छैन। कोर्ष बुक गरिएको छैन। कोर्ष बुक नहुँदा मर्मत सम्भारमा ढिलाइ भएको छ। पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष निजी कोर्ष हो। निजी कोर्ष बुक नहुँदा मर्मत गर्न समस्या भएको उनको भनाइ थियो।

‘कोर्ष मर्मत सम्भार गर्ने तर्फ राष्ट्रिय खेलकुद परिषदले चासो दिएको छैन। कोर्ष बुक गरेर मर्मत सम्भार गर्ने तर्फ चासो दिनुपर्ने हो। त्यसतर्फ ध्यान खेल व्यवस्थापन समितिले समेत नदिँदा अन्यौल बढेको छ,’ उनको भनाइ थियो। गल्फमा गण्डकी प्रदेशबाट ४ पुरुष र ३ महिलाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने छन्। खेलाडीहरुले नियमित प्रशिक्षणमा व्यस्त छन्।

‘हामीले नियमित प्रशिक्षण गर्दै आएका छौं। एक महिनाको क्लोजम्याम्प हुन्छ। प्रशिक्षकले त्यही अनुसार प्रशिक्षण दिँदै आउनुभएको छ।’ सहभागी खेलाडी अजित विकले भने, ‘महंगो खेल हो। खेलकुद परिषदले त्यही अनुसार सहयोग गर्नुहुने छ भन्ने अपेक्षा हो। सेवा सुविधा जे जस्तो रहेपनि खेलाडीको ध्यान घरेलु कोर्षमा स्वर्ण पदक नै हो।’

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले छैटौं राष्ट्रिय खेलकुदमा काँस्य र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले रजत पदक जितेको थियो। राष्ट्रिय खेलकुद परिषद खेल व्यवस्थापन समितिका संयोजक राजेश गुरुङले कोर्ष मर्मत गर्न २ लाख रुपैयाँ छुट्टाइएको जानकारी दिए। ‘दुई लाख रुपैयाँ गल्फलाई छुट्टाएका छौं। १ लाख २० हजार बराबरको मेशिन र बाँकी मर्मत सम्भारमा खर्च गर्ने गरी व्यवस्था मिलाइएको छ,’ उनको भनाइ थियो।  

प्रकाशित: ८ आश्विन २०७९ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App