१७ आश्विन २०७९ सोमबार
खेल

महिला फुटबल: नेपालको लगानीभन्दा उपलब्धि बढी

सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो। जहाँ नेपालले आफूलाई सधैं उपाधि दाबेदारका रूपमा उभ्याए पनि च्याम्पियन बन्ने लक्ष्य भने अझैसम्म पूरा गर्न सकेको छैन।

सन् २०१० बाट सुरु भएको साफ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन थालेका नेपाली महिला फुटबल खेलाडीले प्रतियोगिताको छैटौं संस्करणसम्म आइपुग्दा पाँच पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। समूह चरणमा त नेपाली चेलीको प्रदर्शन सदा झैं उत्कृष्ट रहँदै आएको छ। यसले नेपाली महिला खेलाडीले आफूहरूमा पनि प्रचुर क्षमता भएको प्रमाणित गरिसकेका छन्।

नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मकाण्डको रूपमा वर्षमा एकपटक आयोजना गर्ने महिला राष्ट्रिय लिग र विभागीय टोलीले गर्ने सीमित नकआउट प्रतियोगिताको भरमा महिला फुटबल टोलीले दक्षिण एसियाली महिला फुटबलमा गरेको प्रदर्शन निकै प्रशंसनीय छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बंगलादेशलाई नतिजा नसुम्पिएको भए नेपाली महिला फुटबल टोलीले एउटा विशेष उपलब्धि हासिल गर्ने थियो। तर आफ्नो शतप्रतिशत दिँदा समेत नेपाली महिला खेलाडीले बंगलादेशको स्तरलाई माथ खुवाउन सकेनन्। तर पनि उनीहरूले आफू क्षमतावान् छौं भन्ने प्रमाणित गर्न भने कुनै कसर बाँकी राखेका छैनन्।

प्रतियोगिताको पहिलो संस्करणदेखि छैटौं संस्करणसम्म आइपुग्दा नेपाली महिला फुटबल टोली भारतसँगै सधैं उपाधि दाबेदार टोलीका रूपमा रहँदै आएको थियो। तर हालै सम्पन्न छैटौं प्रतियोगिताको उपाधि जित्दै बंगलादेशले आफूलाई दक्षिण एसियाली महिला फुटबलको नम्बर एक टोलीका रूपमा उभ्याइसकेको छ कम्तीमा आगामी दुई वर्षका लागि। दक्षिण एसियाली महिला फुटबलमा सधैं उपाधि जित्दै आएको भारतको यात्रा यस संस्करणमा सेमिफाइनलमा रोकिएको थियो। १२ वर्षपछि भारतको एकछत्र राज तोड्ने संघारमा पुगे पनि नेपाल अन्ततः दक्षिण एसियाली महिला फुटबलमा उदाउँदो शक्तिका रूपमा देखा परेको बंगलादेशसँग निराश भयो।

यस प्रतियोगितामा नेपालले भुटान र श्रीलंकालाई समूह ‘बी’ को प्रतिद्वन्द्वीका रूपमा पाएको थियो। श्रीलंकालाई यस समूहमा कमजोर टोलीका रूपमा हेरिएको थियो र भयो पनि त्यस्तै। नेपाल र भुटानलाई नतिजा सुम्पिएसँगै श्रीलंकाको यात्रा समूह चरणमा सीमित भएको थियो। यता समूह ‘ए’ मा भने साबिकको विजेता भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स थिए।

यस समूहमा भारत र बंगलादेशलाई सेमिफाइनलको दाबेदार टोली मानिएको थियो। यस समूहबाट बंगलादेश समूहविजेता र भारत उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए। समूह चरणमा बंगलादेशलाई नतिजा सुम्पिएको भारतले प्रतियोगिताको छैटौं संस्करणमा आएर पहिलो हार व्यहोरेको थियो। भारतले सेमिफाइनमा भने नेपाली टोलीलाई नतिजा सुम्पिएको थियो।

दक्षिण एसियाली फुटबलमा सधैँ दाबेदार टोलीका रूपमा रहँदै आएको भारतले आगामी वर्षहरूमा समेत सो छवि कायम राख्नेमा दुविधा छैन। कारण उनीहरूले महिला फुटबलमा गरेको लगानी र उनीहरूको घरेलु फुटबलको संरचना नै हो। भुटानले पनि महिला फुटबल सुरु गरेको १० वर्षपछि पहिलो जित निकाल्यो। प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गर्‍यो। उनीहरूले पनि महिला फुटबलमा राम्रो लगानी गरेको भान हुन्छ। नेपालको वातावरणसँग भिज्नैका लागि उनीहरू प्रतियोगिता सुरु हुनुभन्दा दुई साताअघि नै काठमाडौं ओर्लिएका थिए।

पाकिस्तानले फिफाको निलम्बनका कारण आठ वर्षपछि अन्तर्राष्ट्रिय महिला फुटबलमा पुनरागमन गर्‍यो। उसले महिला टोली निर्माणका लागि विदेशमा रहेका आफ्ना नागरिकका लागि जुन सहज प्रक्रिया अवलम्बन गरेको छ, त्यसले यस संस्करणमा उनीहरूको सहभागिता सहभागितामै सीमित भए पनि आगामी वर्षहरूमा उनीहरू आक्रामक रूपमा आउँछन् भन्दा फरक नपर्ला।

साफ महिला च्याम्पियनसिपको विजेता बंगलादेश प्रतियोगिताको चौथो संस्करणमा फाइनल प्रवेश गर्नु नै अहिलेसम्म उनीहरूको सबैभन्दा ठूलो उपलब्धि हो। उनीहरूले सन् २०१६ बाट उमेरसमूहलाई प्राथमिकतामा राख्दै धेरैभन्दा धेरै प्रतियोगितामा सहभागी भए। सोही टोलीलाई निरन्तर प्रशिक्षणको व्यवस्था मिलाए। अन्ततः भारतको एकछत्र राज तोड्दै दक्षिण एसियाली महिला फुटबल च्याम्पियन्सको ताज पहिरिए।

बंगलादेशसँगको हारपछि पदबाट राजीनामा दिएका प्रशिक्षक कुमार थापाले खेलपछि भनेका थिए, ‘यही संरचनामा घरेलु महिला फुटबल अघि बढे सधैँ दाबेदार टोलीका रूपमा रहँदै आएको नेपालका लागि फाइनल पुग्न समेत कठिन हुनेछ।’ यसबारे एन्फा गम्भीर भएर योजनाहरू ल्याउन आवश्यक छ। तीन विभागीय टोलीमा प्रत्येक टोलीमा ३० जना गरी ९० जनाको त रोजगारी हुन्छ, उनीहरू फुटबलमा लाग्लान् तर यी नै ९० खेलाडीको भरमा कहिलेसम्म नेपाली फुटबल थेगिने।

यता कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पनि नेपालको हारका कारण एक्सपोजरको कमी नै भएको बताइन्।

‘हामीले राम्रो खेलका हौं, उपाधि जित्ने इच्छा पनि थियो तर सफल भएनौं,’ सुब्बाले भनेकी थिइन्, ‘हामीमा म्याच एक्सपोजरको कमी रह्यो। यद्यपि हामीसँग उपलब्ध सेवा र सुविधा तथा हाम्रो घरेलु संरचनाका आधारमा हाम्रा खेलाडीले गरेको प्रदर्शन निकै माथिको हो। अब हामीलाई खाँचो उचित घरेलु संरचना र महिला फुटबल विकासका लागि राम्रो लगानी हो।’

त्यसो त तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा नै चितवनमा महिला राष्ट्रिय लिगको पहिलो चरण सम्पन्न भएको थियो। वैशाखमा विराटनगरमा दोस्रो चरणका खेलहरू आयोजना गर्ने तालिका भए पनि स्थानीय चुनावको बहानामा सो प्रतियागिता सारियो। त्यसपछिका महिना एन्फा नेतृत्वमा आउन शेर्पा समूह र तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच खिचातानीमा समय बित्यो। शेर्पालाई हराउँदै असार ६ मा नेम्बाङ अध्यक्षमा निर्वाचित भए। उनी निर्वाचित भएर आएपछि पनि महिला लिग तत्काल सुरु हुने छाँट देखिएन। नेतृत्वमा आउँदाको गुण तिर्दैमा व्यस्त नेम्बाङ नेतृत्वले महिला लिगको दोस्रो चरण असोज १२ मा बस्ने विशेष साधरणसभाले गर्ने निर्णय लियो।

साफ महिला फुटबलको फाइनल हेर्न सोमबार दशरथ रंगशलामा १५ हजार सात सय ३० दर्शक मैदान प्रवेश गरेका थिए। जुन नेपाली समर्थक पुरुष फुटबल मात्र नभई महिला फुटबललाई पनि त्यत्तिकै माया गर्छन् भन्ने प्रमाण हो।

प्रतियोगिताको सफल आयोजना गर्‍यौ भनेर हौसिने एन्फा नेतृत्वसामु भने सो विशेष साधरणसभाबाट दोस्रो चरणको लिगको बारेमा निर्णय लिनुका साथै महिला फुटबलमा दीर्घकालीन योजना बनाउन समेत दबाब परेको छ। 

प्रकाशित: ५ आश्विन २०७९ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App