coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गप्टिलले सातौं पटक विश्वकप खेल्ने

मार्टिन गप्टिल

ब्याट्सम्यान मार्टिन गप्टिलले सातौं पटक ट्वान्टी–२० विश्वकप खेल्ने मंगलबार न्युजिल्यान्डको टोली घोषणासँगै तय भएको छ।

गत वर्ष ट्वान्टी–२० विश्वकप फाइनल खेलेको न्युजिल्यान्डले मंगलबार १५ सदस्यीय टोली घोषणा गर्दा भेट्रान ब्याट्सम्यान गप्टिल पनि सो टोलीमा समावेश भएका छन्। आगामी ट्वान्टी–२० विश्वकप आगामी अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुँदै छ, जहाँ ३५ वर्षे गप्टिलले केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डबाट सातौं पटक छोटो फरम्याटको विश्वकप खेल्ने अवसर पाउँदै छन्। उक्त टोलीमा फिन एलेन र मिकाइल ब्रेसवेल नयाँ सदस्यका रूपमा देखिएका छन्।

न्युजिल्यान्ड गत वर्ष संयुक्त अरब इमिरेट्स(युएई) मा अस्ट्रेलियासँग स्तब्ध हुँदै ट्वान्टी–२० विश्वकप जित्न असफल भएको थियो। विश्वमा कमै खेलाडीले मात्र सातौं पटक ट्वान्टी–२० विश्वकप खेलेका छन्, तीमध्ये गप्टिल न्युजिल्यान्डका पहिलो क्रिकेटर हुन्। ‘फिन र मिकाइलका लागि उत्साहित हुने अवसर हो। मार्टिन पनि सातौं पटक विश्वकप खेल्दै छन्। मार्टिनका लागि यो सफलता अद्भूत नै हो,’ न्युजिल्यान्ड प्रशिक्षक ग्यारी स्टिडले भने, ‘गत वर्ष मात्र भएको विश्वकप छिटो आयोजना हुँदा खुसी छौं। हामीले गत वर्ष पनि राम्रै खेले पनि सफलता पाउन भने सकेनौं।’

न्युजिल्यान्डका प्रशिक्षक ग्यारीले टोलीमा केही पुराना अनुहार र नयाँ युवा समावेश भएसँगै यस विश्वकपमा पनि राम्रो नतिजा प्राप्त हुने आशा व्यक्त गरेका छन्। तीव्र गतिका बलर एडम मिल्ने पनि टोलीमा फर्किंदा डेभन कनवेले न्युजिल्यान्डको विकेटकिपङ समाल्ने पक्का छ। उनले गत महिना वेस्ट इन्डिजविरुद्ध विकेटकिपिङ समालेका थिए। न्युजिल्यान्डले घरेलु भूमि क्राइस्टचर्चमा आगामी अक्टोवर ७ मा पाकिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय शृंखला खेल्नेछ।

न्युजिल्यान्डले गत वर्षको फाइनल प्रतिद्वन्द्वी आयोजक अस्ट्रेलियाविरुद्ध खेल्दै यस संस्करणको विश्वकप सुरुआत गर्नेछ। उक्त खेल अक्टोबर २२ मा तय छ। त्यसपछि न्युजिल्यान्डले इङ्ल्यान्ड र अफगानिस्तानसँग खेल्नेछ। केनको कप्तानीमा रहेको न्युजिल्यान्डमा फिन एलेन, ट्रेन्ट बोल्ट, मिकाइल ब्रेसवेल, मार्क चापमेन, डेभोन, लोक्की फर्गुसन, गप्टिल, एडम मिल्न, डारिल मिचेल, जिमी निसम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, इस सोधी र टिम साउथी छन्।  

प्रकाशित: ५ आश्विन २०७९ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App