विराटनगरमा जारी टुबोर्ग प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लब पुगेको छ।
प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा हाटखोलाले उर्लाबारीको राजघाट भेट्रान्स क्लब सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा समेत बराबरी भएकाले सडेनडेथका आधारमा खेलको निर्णय भएको हो।
राजघाटले अन्तिम २ मिनेट आफूलाई समाल्न नसक्दा जित हाटखोलालाई सुम्पनु पर्यो। राजघाटका लीलाबहादुर जोशीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि अन्तिम २ मिनेट बाँकी छँदा हाटखोलकाका सुमन श्रेष्ठले गोल गर्दै खेल बराबरी परेका थिए।
हाटखोलाका शुलभजंग राना, राजु थापा मगर, एमकुमार मगर, सुमन श्रेष्ठ र सुनिल राउतले गोल गरे। राजघाटका लागि राजु खड्का, दीपक लिम्बू, लीलाबहादुर जोशी र उत्तम लिम्बूले गोल गरे।
म्यान अफ द म्याच हाटखोलका गोलरक्षक सुरेन्द्र श्रेष्ठले २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। बुधबारको खेल आयोजक मिल्स भेट्रान्स क्लब ‘ख’ र सुनसरीको भरौल भेट्रान्स क्लबबीच हुनेछ।
प्रकाशित: ४ आश्विन २०७९ १४:०९ मंगलबार