८ वैशाख २०८१ शनिबार
खेल

नारदमुनि स्मृति गोल्डकप ९ गतेदेखि

पत्रकार सम्मेलनमा आयोजक टिम।

हरेक वर्ष दशै तिहारको अवसरमा आयोजना हुँदै आएको ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०७९’ आउँदो ९ गतेदेखि सुरु हुने भएको छ। स्थानीय बसाहा क्लबले आयोजना गर्ने प्रतियोगिता चौदण्डीगढी नगरपलिका ४ बसाहास्थित बर्खेडाँडा खेल मैदानमा असोज ९ गतेदेखि १६ गतेसम्म हुन लागेको हो।  

गत ०६८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको गोल्डकपको यो प्रतियोगिता ८औं संस्करण हुन लागेको बसाहास्थित लालीगुँरास महिला भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।  क्लबका निवर्तमान अध्यक्ष तथा युवा समाजसेवी शेखर राईले प्रतियोगितामा बिभिन्न ८ समूहको सहभागिता रहने सम्मेलनमा जानकारी दिए।  

सममेलनमा यसवर्षको प्रतियोगितामा एक विदेशी टिम एभिनीयर क्याम्रुनसहित देशका विभिन्न ए डिभिजनका खेल समूहहरुको सहभागिता हुने भएको छ। मोरङ, गोर्खा व्वाइज रुपन्देही, चर्ज व्वाइर्ज काठमाडाैं, गोर्खा स्पोर्टस् क्लव झापा, भोजपुर फुटबल ब्लब, डिटिसी सुनसरी र घरेलु टिम बसाहाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।  

पत्रकार सम्मेलनमा खेल संयोजक भपेुन्द्र राईले प्रतियोगितामा ३२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ खर्चको अनुमान गरिएको बताए। उनका अनुसार चौदण्डीगढी नगरपालिकाले १० लाख अनुदान सहयोग गर्ने भएको छ भने ४ नं. वडा कार्यालयले २ लाख दिने सुनिश्चित भएको छ। त्यस्तै बेल्टारस्थित गोर्खा फाईनान्सले ३ लाख सहयोग गर्ने वाचा गरेको छ भने अपुग रकम जुटाउन क्लब आफै प्रायोजकको खोजीमा रहेको संयोजक राईले बताए।  

प्रतियोगितामा खेलाडी व्यवस्थापनमा ८ लाख खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस्तै खेल मैदान सरसफाई, घेरावेरा आदि कामका लागि वडाबाट ६ लाख रुपैया बिनियोजन गरिएको छ। हरेक वर्ष आयोजना हुने गोल्कप र अन्य प्रतियोगिताहरु भईरहने भएकाले खेल मैदानलाई दिगो र भरपर्दो बनाउन वडाले बजेट छुट्याएर काम थालेको छ।  

वडाध्यक्ष लुङ्गराज राईले खेल मैदानलाई व्यवस्थित, सफा र दिगो बनाउन वडाबाटै बजेटको व्यवस्था गरेको बताएका छन्। उनका अनुसार चालुवर्ष बिनियोजित ६ लाखबाट मैदानको पश्चिमपट्टी पक्की पर्खाल निर्माण गरिएको छ। वडा कार्यालयले ‘एक पालिका, एक खेल मैदान’को नीति लिएर खेलकुदमा रकम छुट्याउने गरेको उनको भनाई छ। अध्यक्ष राईले बसाहा फुटबल क्षेत्रमा जिल्लाकै अगुवा भएको र खेलकुद विकासमा वडाबासी र जनप्रतिनिधि दुवै सचेत रहेको बताएका छन्।  

प्रतियाोगिताका विजयी समूहलाई ४ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई २ लाख नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। हरेक वर्ष दसैं तिहारको बीचमा आयोजना हुदै आएको प्रतियोगिता कोविडका कारण बिगत दुईवर्षयता भने हुन सकेको थिएन।  ०७५ चैत ११ गतेदेखि सुरु भएको कोविड लडकडाउनका कारण रोकिएको प्रतियोगिता ०७६ यता पहिलो पटक गर्न लागिएको हो।  

जिल्लाको फुटबल खेलको इतिहासमा बसाहा उदयपुृरकै अग्रणी ठाउँ हो। अधिकांश लाहुरे समुदायको बसोबास रहेको बसाहामा पहिलो पटक ०४२ सालमा जीतेन्द्र राईको नेतृत्वमा फुटबल खेल आयोजना भएको थियो। त्यसपछि उनकै नेतृत्वमा त्यहाँ फुटबल खेलका लागि मैदान निर्माण गर्ने काम भएको स्थानीय बुढापाकाहरु बताउँछन्। उनलाई स्थानीइहरु नरहाङ राई, नरबहादुर तामाङ, विक्रम तामाङ, बुद्धिमान तामाङ हुँदै भूपेन्द्र राई र शेखर राईसम्मले फुटबल खेल र खेल मैदानको व्यस्थापन  विकासमा सहयोग गर्दै आएका छन्।  

प्रतियोगिताका लागि सम्पूर्ण व्यवस्थापकीय कार्य लगभग सकिएको जानकारी आयोजक क्लबले दिएको छ। क्लबका अध्यक्ष शेरबहादुर मगरले खेलाडी बोलाउनेदेखि मञ्च व्यवस्थापनसम्मका कामहरु अन्तिम चरणमा पुगेको बताए। पत्रकार सम्मेलनमा क्लबका सहसचिव कुमार राई, फुटबलका राष्ट्रिय खेलाडी जेवी राई, रेफ्रिहरु अमर राई र तिलक विश्वकर्मालगायतको पनि उपस्थिति थियो।

प्रकाशित: ३ आश्विन २०७९ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App