८ वैशाख २०८१ शनिबार
खेल

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सोमबार बंगलादेशको सामना गर्दै छ। नेपाल र बंगलादेशबीचको विजेता नै साफ महिला च्याम्पियनसिपको नयाँ विजेता हुनेछ। कारण यसअघिका पाँचै संस्करणमा उपाधि जित्दै आएको भारत यस पटक भने सेमिफाइनलबाटै बाहिरिसकेको छ।

समूह चरणमा बंगलादेशलाई नतिजा सुम्पिएको भारत शुक्रबार दोस्रो सेमिफाइनलमा नेपालसँग निराश भएको थियो। जुन जित नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपको १२ वर्षको इतिहासमा भारतविरुद्ध निकालेको पहिलो जित थियो। समूहचरणमा भुटान र श्रीलंकाजस्ता सहज प्रतिद्वन्द्वी पाएको नेपालले भारतविरुद्ध वास्तविक परीक्षा उत्तीर्ण गरेको थियो। बंगलादेशविरुद्धको खेल नेपाली टोलीका लागि अर्को परीक्षा हो।

नेपाली महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल्न लागेको यो लगातार दोस्रो पटक हो भने समग्रमा चौथो पटक। सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पहिलो, दोस्रो र तेस्रो संस्करणको फाइनल प्रवेश गरेको नेपाल तीनै पटक फाइनलमा भारतसँग निराश भएको थियो। चौथो संस्करणमा भारतसँग सेमिफाइनलमा पराजित भएको नेपाल सन् २०१९ मा विराटनगरमा भएको पाँचौं संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो।

नेपालसामु घरेलु मैदानमा उपाधि राख्ने अवसर छ। जुन अवसर खेर जाने दिने पक्षमा नेपाली चेली छैनन्। ‘हामी बोलेरभन्दा पनि खेलेर आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छौं,’ पहिलो पटक राष्ट्रिय महिला टोलीको कप्तानी सम्हालेकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले भनिन्, ‘हामी नेपाली महिला फुटबलमा इतिहास रच्ने संघारमा छौं र त्यसका लागि हामी निकै उत्साही छौं।’

नेपाल र बंगलादेशका महिला फुटबल टोली पछिल्लो पटक गत वर्ष दशरथ रंगशालामा भिडेका थिए। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आएको बंगलादेशले घरेलु टोलीलाई एक खेलमा नतिजा सुम्पिएको थियो भने अर्को खेलमा बराबरी खेलेको थियो।

साफ महिला च्याम्पियनसिप हालसम्मको विजेता

सन् २०१० भारत १ नेपाल ०

सन् २०१२ भारत३ नेपाल १

सन् २०१४ भारत ६ नेपाल ०

सन् २०१६ भारत ३ बंगलादेश १

सन् २०१९ भारत ३ नेपाल १

नेपालको फाइनल यात्रा

नेपाल ४ भुटान ० (समूहचरण)

नेपाल ६ श्रीलंका ० ( समूहचरण)

नेपाल १ भारत ० (सेमिफाइनल)

बंगलादेशको फाइनल यात्रा

बंगलादेश ३ माल्दिभ्स ० (समूहचरण)

बंगलादेश ६ पाकिस्तान ० (समूहचरण)

बंगलादेश ३ भारत ० (समूहचरण)

बंगलादेश ८ भुटान ० (सेमिफाइनल)

नेपालका प्रशिक्षक कुमार थापाले प्रतियोगिताको तयारी सुरु गरेदेखि नै आफूहरूले उपाधिमा अर्जुनदृष्टि लगाएकाले बंगलादेशमाथि सुखद नतिजासहित उपाधि चुम्नेमा विश्वस्त रहेको बताए।

‘हामी च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी थालेका थियौं। समूहचरणमा हामीले सहज प्रतिद्वन्द्वी पायौं। भारतविरुद्ध सेमिफाइनलमा निकालेको जितले टोलीको मनोबल उच्च पारेको छ,’ थापाले भने, ‘जुन तरिकाले नेपाली समर्थकले महिला टोलीलाई माया गरिरहनुभएको छ, त्यसप्रति हामी आभारी छौं। हामी घरेलु मैदानमा घरेलु समर्थकका माझ नेपाली महिला फुटबलको इतिहास रच्नेमा विश्वस्त छांै। हामी बंगलादेशलाई हराउँदै उपाधि घरमै राख्नेछौं।’

नेपाली महिला फुटबल टोलीकी गोल मेसिनका रूपमा रहेकी स्ट्राइकर सावित्रा भण्डारीले भुटानविरुद्धको पहिलो खेलमा २ गोल गरेकी थिइन्।। डेंगीका कारण उनले श्रीलंकाविरुद्धको दोस्रो खेल गुमाइन्। भारतविरुद्ध टोलीमा फर्किए पनि प्रशिक्षक थापाले उनलाई मैदान उतार्ने जोखिम भने मोल्न चाहेनन्। सावित्रा बंगलादेशविरुद्धको फाइनलमा मैदान उत्रन्छिन् भन्ने प्रश्नमा थापा भन्छन्, ‘उनी टोलीकी प्रमुख खेलाडी हुन्। कुनै पनि टोली फाइनलमा प्रमुख खेलाडीबिना मैदान उत्रने कल्पना समेत गर्न सक्दैन। तर हामी टिम गेममा विश्वास गर्छौं। टोलीमा आवश्यकता अनुसार खेलाडीले अवसर पाउँछन्। हामीले टोलीमा जसजसलाई अवसर दिएका छौं, सबैले उनीहरूलाई दिएको जिम्मेवारी पूरा गरेका छन्।’

नेपाल यसअघि साफ महिला च्याम्पियनसिपको पाँचमध्ये चार संस्करणको फाइनल प्रवेश गरेको थियो। एक पटक भने नेपाल सेमिफाइनलमा निराश भएको थियो। सो बेला नेपाली टोलीका प्रशिक्षक थापा नै थिए। थापासामु उपाधिसहित सन् २०१६ को नमीठो क्षण भुलाउने समेत अवसर छ।

यता बंगलादेशका प्रशिक्षक गोलम रोब्बानी छोटानले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जित्न आफ्नो टोली तयार रहेको बताए।

‘हामी यहाँ उपाधि जित्न आएका छौं,’ छोटानले भने, ‘टोलीले समूहचरणदेखि एकै नासको प्रदर्शन गर्दै आएको छ। हामी त्यही प्रदर्शन दोहोर्‍याउँदै उपाधि जित्न चाहन्छौं। नेपाल कठिन प्रतिद्वन्द्वी हो। उमेरसमूहको प्रतियोगितमा हामीले नेपाललाई हराउँदै आए पनि सिनियर महिला फुटबलमा भने हामीले नेपालाई हराउन सकेका छैनौं। हामी उनीहरूमाथि पहिलो जितसहित उपाधि जित्न चाहन्छौं। नेपाललाई घरेलु टोलीको समर्थन हुनेछ। तर हाम्रा खेलाडीहरू विपक्षी टोलीको समर्थकमाझ पनि सुखद नतिजा ल्याउन सक्षम छन्।’

प्रकाशित: ३ आश्विन २०७९ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App