coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साफ यु-१७ च्याम्पियनसिप: नेपाली युवा टोलीले गुमायो अवसर

दक्षिण एसियाली फुटबलको उमेरसमूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।

नेपाली युवा टोलीले साफ यु–१७ च्याम्पियनसिपमा भारतको दबदबाको अन्त्य गर्दै लामो समयदेखिको उपाधि खडेरी तोड्ने अनुमान गरिएको थियो। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार सम्पन्न फाइनलमा साबिक विजेता भारतलाई ४–० ले नतिजा सुम्पिएसँगै नेपाली युवा टोलीले सुनौलो अवसर गुमाएको छ।

साफ यु–१७ च्याम्पियनसिपको छैटौँ संस्करणसम्म तीन पटक फाइनल प्रवेश गरे पनि उपविजेतामा सीमित हुँदै आएको नेपाली युवा टोलीले चौथो प्रयासमा समेत त्यसलाई चिर्न सकेन। भारतको उपाधिरक्षाको लक्ष्य साकार पार्न १७औं मिनेटमा बबी सिंहले गोल गरे। त्यसको १३ मिनेटपछि कोराउ सिंहले गोल थप्दै भारतको अग्रता दोब्बर पारे। खेलको ६२औं मिनेटमा थङलालसाउन गाङ्टेले भारतका लागि अर्काे गोल थप्दा इन्जुरी समयमा अमनले गोल गर्दै भारतको विजय निश्चित गरे।

साफ यु–१७ च्याम्पियनसिप २०२२ नेपाली युवा टोलीलाई आफ्नो क्षमता प्रमाणित गर्दै भारतमाथिको शृंखलाबद्ध हारमा पूर्णविराम लगाउने अवसर समेत थियो। समूह ‘बी’ मा नेपालसँगै साबिक विजेता भारत र भुटान थिए। समूह ‘ए’ मा भने बंगलादेश, श्रीलंका र माल्दिभ्स थिए। समूह ‘बी’ बाट नेपाल र भारत अन्तिम चारमा प्रवेश गर्ने अनुमान गरिएको थियो। भयो पनि त्यस्तै।

पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि पुनरागमनमा ३–१ को जितसहित समूहविजेता बन्यो। सेमिफाइनलमा श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपालले फाइनलमा भारतविरुद्ध समूहचरणमा निकालेको जस्तै सहज जित निकाल्ने अनुमान गरिए पनि नतिजा भने त्यसकोे विपरीत अयो।

भारतले भने समूह ‘ए’ को विजेता बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि रक्षाको लक्ष्यमा एक कदम अघि बढेको थियो। नेपालमाथिको जितपछि भारत आफ्नो लक्ष्यमा सफल भयो। समूहचरणमा निकालेको जितपछि उच्च मनोबलका साथ मैदान उत्रिएको नेपाल फाइनलमा भने आफ्नो स्वाभाविक लय कायम राख्न चुक्यो। नेपाली युवा टोली साफ च्याम्पियनसिपको उपाधिबाट विमुख भएको चौथो पटक हो र चारै पटक भारत नेपाली युवा टोलीको उपाधिलक्ष्यमा मुख्य बाधक बन्दै आएको छ। भारतमाथि यसै प्रतियोगितामा निकालेको जितले भने नेपाली टोलीको मनोबल उच्च भएको थियो।

सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो। जसको उपाधि पाकिस्तानले जितेको थियो। पहिलो संस्करणमा नेपालको यात्रा भारतले सेमिफाइनलमा पेनाल्टी सुटआउटमा समाप्त पारेको थियो। सन् २०१३ मा पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। सन् २०१५ को तेस्रो संस्करणमा पनि नेपालको यात्रा अन्तिम चारमा रोकियो।

सन् २०१७ मा यु(१५ को उमेरसमूहमा सम्पन्न प्रतियोगिताको फाइनल प्रवेश गरे पनि नेपाल भारतसँग निराश हुँदै पुनः उपविजेतामा सीमित भयो। सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो। गत संस्करण (सन् २०१९) को फाइनलमा पनि नेपाल भारतसँगै पराजित भयो।

यु–१६ का नाममा सुरु भएको प्रतियोगिताको पछिल्लो तीन संस्करण यु– १५ को उमेरसमूहमा भए पनि यस पटक भने पहिलो चोटि यु–१७ को नाममा प्रतियोगिता आयोजना गरिएको हो। सातौं संस्करण नेपालका लागि भारतसँगको शृंखलाबद्ध हारमा पूर्णविराम लगाउँदै च्याम्पियन बन्ने अवसर थियो। यो पुनः खेर गयो। नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले युवा टोली उपाधिको संघारमा पुगेर असफल हुँदा निराश भए पनि छोटो समयको तयारीका बावजुद टोलीले गरेको प्रदर्शनले भने नेपाली फुटबलमा नयाँ आशाको किरण जगाएको बताए।

‘हामीले खुला छनोटबाट खेलाडी ल्याएका हौं। केही खेलाडी एकेडेमीका रहे पनि अधिकांश खेलाडी बाहिरबाट आएका थिए,’ श्रेष्ठले भने, ‘यो टोलीले यहीँ आएर पहिलो खेल खेल्यो। पहिलोे खेलमा हामीले भुटानमाथि जित निकाले पनि स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न सकेनौं। तर भारतमाथि पुनरागमन जितले भने टोलीको मनोबल उच्च बनाइदियो।

सेमिफाइनलमा पनि हामीले सानदार जित निकाल्यौं। तर फाइनलमा भने हामीले स्वाभाविक प्रदर्शन गर्न नसक्दा च्याम्पियन बन्ने लक्ष्यमा न्याय दिन सकेनौं। हामी इतिहास रच्ने संघारमा पुगे पनि सफल भएनौं। यद्यपि यहाँ गरेको प्रदर्शन भियतनाममा आगामी महिना हुने यु–१७ एसियन कप छनोटमा समेत राम्रो प्रदर्शन र नतिजा ल्याउन फलदायी हुनेमा आशावादी छु।’

प्रकाशित: ३० भाद्र २०७९ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App