coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

समूहचरणको नतिजाले उच्च मनोबलमा नेपाल

नेपाली यु १७ टोलीसामु बुधबार फाइनलमा साबिक विजेता भारतको सामना गर्दा जितसहित इतिहास रच्ने सुनौलो अवसर हुनेछ।

भारतसँग यसै प्रतियोगिताको समूहचरणमा निकालेको जितले पक्कै पनि नेपाली टोलीको मनोबल बढाएको छ। भारतविरुद्ध यस उमेरसमूहमा नेपालले निकालेको यो नै पहिलो जित थियो। जुन आफैँमा ऐतिहाससिक थियो।

नेपालले समूह ‘बी’ को विजेता बन्ने क्रममा भारतमाथि ३–१ को जित निकालेको थियो। नेपाल यसअघि पनि तीन पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरे पनि तीनै पटक भारतसँग पराजित भएको थियो। नेपाल सन् २०१३, २०१७ र २०१९ मा फाइनल प्रवेश गरेको थियो। सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो। जसको उपाधि पाकिस्तानले जितेको थियो।

समूहचरणमा शतप्रतिशत नतिजा ल्याएको नेपाल सेमिफाइनमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो। सन् २०१३ को संस्करणमा भने नेपाल फाइनलमा भारतसँग १–० ले निराश भयो। सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो।

सन् २०१७ मा यु–१५ को उमेरसमूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो। सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेरसमूहमा सम्पन्न भएको थियो। जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो। सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।

यु–१५ र यु–१६ को उमेरसमूहमा हुँदै आएको प्रतियोगिता सातांै संस्करणमा आएर यु–१७ को उमेरसमूहमा हुन लागेको हो। जुन प्रतियोगिता नेपालका लगि भारतसँगको शृंखलाबद्ध हारमा पूर्णविराम लगाउँदै पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने सुनौलो अवसर हुन सक्छ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले र दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरी समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो, जहाँ नेपालले आयोजक श्रीलंकाको चुनौती ६–० ले समाप्त पारेको थियो।

यता समूह ‘बी’ को उपविजेता भारत समूह ‘ए’ को विजेता बंगलादेशलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ भारतलाई समूहचरणमा पराजित गरिसकेको भए पनि फाइनल खेल कठिन हुने बताउँछन्।

‘भारतविरुद्धको खेल कठिन हुने गर्दछ,’ श्रेष्ठले भने, ‘हामीले समूहचरणमा उनीहरूमाथित जित निकाले पनि यो फाइनल हो। यहाँको अवस्था फरक हुन्छ। उनीहरूले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। हामी उनीहरूसँग बदला लिँदै उपाधि जित्न चाहन्छौं। हामी विशेष उपलब्धिबाट मात्र एक खेल टाढा छौं। हामी पहिलो खेलबाट अपनाउँदै आएको रणनीति भारतविरुद्ध पनि अपनाउँदै स्वाभाविक खेल खेल्छौं।’

यता नेपालका कप्तान प्रशान्त लक्ष्यम् पनि भारतविरुद्धको खेल कठिन हुने बताउँछन्।

‘भारतसँगको खेल सहज हुँदैन। समूहचरणमा निकालेको जित फरक थियो, फाइनल खेल भिन्न हुनेछ,’ उनले भने, ‘भारत हामीमाथिको दबाब कायम राख्न चाहन्छ भने हामी उनीहरूसँगको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्छौं।’ यता भारतका प्रशिक्षक फर्नान्डेसले बंगलादेशविरुद्ध सेमिफाइनलमा निकालेको जितले टोली उच्च मनोबलमा रहेको हुँदा नेपाललाई हराउँदै उपाधि जित्नेमा विश्वस्त रहेको बताए।

‘हामी उपाधि जित्नेमा विश्वस्त छौं,’ उनले भने, ‘नेपाल कठिन प्रतिद्वन्द्वी हो र उनीहरूले हामीलाई समूहचरणमा हराएका थिए। तर फाइनल खेलमा हामी पुनरागमन गर्दै उपाधि रक्षाको लक्ष्य सफल पार्न चाहन्छौं।’  

प्रकाशित: २९ भाद्र २०७९ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App