८ वैशाख २०८१ शनिबार
खेल

नवौं राष्ट्रिय खेल: सामाजिक सञ्जालमार्फत सहयोग जुटाउँदै फेन्सिङ संघ

'नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउँला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हात लागे शुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक सञ्जालमार्फत नै हात फैलाउन बाध्य भएँ। गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चाले। खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्फिङ संघको खातामा सहयोग गर्न सक्नु हुनेछ, हिसाब पारदर्शी हुने बाचा गर्दछु। गण्डकी प्रदेशकै ईज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरे,’ कास्की फेन्सिङ संघका अध्यक्ष विजय शाहीले सामाजिक सञ्जालमार्फत सहयोग मागे।

गण्डकी खेलकुद परिषद (प्रदेश खेलकुद) सँग हारगुहार गरेपनि सहयोग नपाएपछि उनले सामाजिक सञ्जाल मार्फत सहयोग अभियान सुरु गरेका हुन्। 'फेन्सिङको सामान छैन, प्रशिक्षण गर्ने हल छैन। बहुउद्देश्यीय कभर्ड हलमा विद्युत आपूर्ति छैन। विद्युत आपूर्ति नहुँदा प्रशिक्षण गर्दा अध्यारो हुन्छ। अध्याँरोकै कारण साँझसम्म प्रशिक्षण गर्न सकिँदैन। अध्यक्ष शाहीले एकपछि अर्को गुनासो फुकाए, ‘प्रदेशमा मिटिङ हुन्छ। बजेट निकासा हुँदैन।’

उनले फेन्सिङले दुःखम सुखम प्रशिक्षण गर्दै आएको बताए। विशेष (बन्द) प्रशिक्षणको लागि खेलाडीलाई भत्ता आउने गण्डकी खेलकुद परिषदले सुनाउँदै आएको छ। ‘गणेशमान स्मृति फेन्सिङ च्याम्पियनसिप खेल्दा हामीसँग सामान नै थिएन। १ लाख ४० हजार रुपैयाँको उधारो सामान ल्याइयो। पालैपालो प्रशिक्षण गराउनुपर्छ। आवश्यक हतियार छैन। प्रदेशमा विन्ति चढाएको छु, तर कसैले सुनेनन्,’ उनले गुनासाका पोका फुकाए।

उनका अनुसार खेलाडीहरु राष्ट्रिय प्रतियोगिता मात्रै नभई भारतमा हुने युथ वल्र्डको तयारीमा समेत छन्। युनिर्भियाड समेत सहभागिताको तयारीमा जुटेका छन्। ‘फेन्सिङको सम्भावना छ। युथ खेलाडी कास्कीमा मात्रै छन्। तर स्रोत र साधन केही छैन्,’ अध्यक्ष शाही सुनाउँछन्।

फेन्सिङको सामान नेपालमा किन्न पाइदैन। पर्याप्त सामान छैन। संघसँग न पैसा छ न सामान नै। सामान र आर्थिक सहयोगको लागि प्रदेशसँग अपिल गरेपनि सुनुवाइ भएन। ‘उनीहरुसँग ठोस जवाफ नै छैन,’ उनले भने, ‘आधिकारीक जवाफ दिँदैनन। सहयोगको लागि धेरै दौडधुप गर्न सकिँदैन।’ अध्यक्ष शाहीले व्यक्तिगत नभइ संस्थागत निर्णय भएपछि सहयोगको लागि सामाजिक सञ्जालमा पोष्ट गरिएको बताए।  

फेन्सिङमा १२ महिला र १२ पुरुष छनोट भएका छन्। फेन्सिङ तीन इभेण्टमा प्रतिस्पर्धा हुन्छ। ईपी (शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार (सोर्ड) को टुप्पोले छुने), फोयल (हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ) र फाबेर (टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन तार जडित हुन्छ, छोए पनि नम्बर देखाउँछ) इभेण्टमा प्रतिस्पर्धा हुने गरेको छ।

‘मास्क र सोर्डको अभाव छ,’ सामान्य ड्रेसको ७ हजार रुपैयाँ पर्छ। त्यसमा चेष्टगार्ड छुट्टै किन्नुपर्छ। जुन इलेक्ट्रोनिक हुन्छ। विशेष गरी खेलमा मात्रै प्रयोग गर्ने गरिन्छ। ज्याकेटलाई पनि ७ हजार रुपैयाँ नै पर्ने उनको भनाइ थियो। सामान्य खालको सोर्डलाई २७ सय रुपैयाँ पर्छ। आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो। 

प्रकाशित: २८ भाद्र २०७९ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App