coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आयोजकलाई रोक्दै नेपाल फाइनलमा

घरेलु टोली श्रीलंकालाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

सोमबार कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्यो। २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्यमको पोनाल्टी गोलबाट अग्रता लिन सुरु गरेको नेपालका लागि २३औं मिनेटमा हरिस भट्ट, ३०औं मिनेटमा सुवास बम, ३७औं मिनेटमा निरोज कार्की, ५१औं मिनेटमा उमेश बुढाथोकी र ९०औं मिनेटमा सिजल राईले गोल गरेका थिए। नेपाल यस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको यो लगातार दोस्रो पटक हो।

गत संस्करणमा पनि नेपाल फाइनल प्रवेश गरेको थियो, जहाँ नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। बुधबार हुने फाइनलमा नेपालले भारतको सामना गर्नेछ। सोमबारै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो।  

दक्षिण एसियाली फुटबलको उमेरसमूहको प्रतियोगितामा पनि सिनियर टोलीझैँ युवा टोलीले सधैँ श्रीलंकालाई दबाबमा राख्दै आएको छ। जुन आजको खेलमा पनि नेपालले कायम राख्यो। सन् २०११ बाट सुरु साफ यु १६ च्याम्पियनसिपको यो सातौं संस्करण हो।

नेपाल र श्रीलंकाबीच यस प्रतियोगितामा यो तेस्रो भेट थियो। यसअघि समूहचरणमा भाएको दुई भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको थियो। पहिलो संस्करणमा समूहचरणमा नेपालले श्रीलंकालाई ६–० ले हराएको थियो। सन् २०१९ मा भएको समूहचरणकै अर्को खेलमा श्रीलंकाले नेपाललाई २–० को नतिजा सुम्पिएको थियो। सेमिफाइलमा भने नेपालले पहिलो पटक श्रीलंकाको सामना गरेको थियो। नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले टोलीले स्वाभाविक लय कायम राखेकाले फाइनलको यात्रा पक्का भएको बताए।  

‘हामीले भुटानविरुद्धको पहिलो खेलमा स्वाभाविक लयअनुसारको खेल खेल्न सकेका थिएनाैं,’ श्रेष्ठले भने, ‘भारतविरुद्ध भने हामीले स्वाभाविक लयअनुसारको नतिजासहित समूहविजेता बनेका थियाैं। आज श्रीलंकाविरुद्ध पनि खेलाडीहरूले स्वाभाविक लय कायम राखे।

जसबाट सहज नतिजा निक्लियो।’ ‘हामी च्याम्पियन बन्ने लक्ष्यसहित यहाँ आएका थियौं र यो लक्ष्यमा पुग्न हामी एक जित मात्र टाढा छौं,’ श्रेष्ठले थपे, ‘हामी अब भारतविरुद्धको फाइनलमा पनि स्वाभाविक खेल खेल्दै उपाधि जित्न चाहन्छौं। हामीसामु उपाधि जित्ने सुनौलो अवसर छ। हामी त्यसलाई खेर जान दिनेछैनाैं। यो टोलीले आफ्नो क्षमता प्रमाणित गरेको छ।’  

प्रकाशित: २८ भाद्र २०७९ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App