५ वैशाख २०८१ बुधबार
खेल

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडी सहभागी हुने

पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको बारेमा जानकारी दिँदै गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ।

आयोजक नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा आगामी असोजको पहिलो साता पोखरामा अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुँदैछ।

‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।

असोज ६ देखि ९ गतेसम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार १ हजार ३ सय जना खेलाडीहरु सहभागी हुने छन्। 

दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्‍याङकिङ जुनियर तथा सिनियर र पुम्से प्रतियोगिताका लागि खेलाडीहरुको दर्ता दुई दिनअघि मात्रै रोकिएको जानकारी गराए।

पोखरा रंगशालामा खेलाडीहरुको लागि आवश्यक पर्ने एरिना सानो र थोरै दर्शक क्षमता भएको कारणलो गर्दा पनि दर्ता ४ दिन अघि नै स्थगित गरिएको उनको भनाइ थियो। जुनियरमा महिला र पुरुष तर्फ १०/१० वटा तौल समूहमा प्रतिस्पर्धा गराइने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सिनियर तर्फ महिला र पुरुषको ८/८ वटा तौल समूहमा प्रतिस्पर्धा गराइने छ। महिलाहरुको ४६, ४९, ५३, ५७, ६२, ६७, ७३ केजी र ७३ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुष तर्फ ५४, ५८, ६३, ६८, ७४, ८०, ८७ र ८७ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराइने गण्डकी प्रदेश तेक्वान्दो संघले जनाएको छ।

अध्यक्ष गुरुङका अनुसार १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरिएको थियो। एरिनाकै कारण १ हजार ३ सय जना मात्र खेलाडीहरु मात्र सहभागि गराउन बाध्य हुने भएको उनले सुनाए। कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवर्द्धनमा टेवा पुग्ने विश्वास तेक्वान्दो संघले लिएको छ।

प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता हुने अनुमान गरिएको छ। विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव दीपराज गुरुङले बताए।

यसअघि दुई पटक सफलता पूर्वक काठमाडाैँमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो। पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको प्रतिस्पर्धा हुने छ।

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता स्वीकृति  प्रदान गरेको छ। तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख रुपैयाँ खर्च हुने संघ गण्डकीका सचिव रमेश पौडेलले जनाए।  

प्रकाशित: २५ भाद्र २०७९ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App