coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितेरै ल्याए झनै खुसी

भक्तपुरमा बुधबार आइसिसी टी–२० विश्वकप ट्रफीसँग तस्बिर खिचाउँदै स्कुले विद्यार्थी। तस्बीरः उपेन्द्र लामिछाने

भक्तपुरस्थित एभरेस्ट बोर्डिङमा कक्षा ९ मा अध्ययनरत सार्थक घिमिरे आइसिसी टी-२० विश्वकप ट्रफीलाई नजिकैबाट नियाल्न पाउँदा निकै खुसी देखिए। बुधबार भक्तपुर दरबार क्षेत्रमा राखिएको ट्रफीसँग तस्बिर खिचाएलगत्तै उनले आफू निकै रोमाञ्चित भएको सुनाए।

‘जितेरै ल्याए त झनै खुसी हुन्थ्यौं,’ नेपाली बलर सन्दीप लामिछानेका फ्यान घिमिरेले भने, ‘अहिलेलाई यति हेर्न पाउँदा पनि खुसी मिलेको छ।’ बलिङमा रुचि राख्ने घिमिरेले नेपाली टोलीले खेलेका धेरै म्याच नियाल्ने गरेको सुनाए।

‘हिजो मात्र नेपालले केन्यालाई हराएको हेरेका थियौं,’ उनले हाँस्दै भने, ‘आज त आफ्नै अगाडि विश्वकप ट्रफी हेर्न पायौं।’

उनीसंँगै रहेका प्रशिष्य पराजुलीले पनि नेपाली खेलाडीसँग निकै आशा रहेको सुनाए। भारतीय खेलाडी विराट कोहली र नेपाली खेलाडी सन्दीपका फ्यान रहेका उनले पनि जितेरै ल्याएको विश्वकप ट्रफी हेर्ने इच्छा व्यक्त गरे। ‘घुमाउन ल्याएको हेर्दा त यति रमाइलो छ,’ उनले भने, ‘साँच्चै जितेरै ल्याए झन् कति रमाइलो होला।’

आइसिसी टी–२० विश्वकप ट्रफीलाई बुधबार भक्तपुरमा सार्वजनिक गरिँदा यहाँको माहौल कुनै उत्सवभन्दा कम थिएन। धिमे बाजा र बाँसुरीको धुनमा लाखे नाच्दै ट्रफी घुमाउँदा जात्राको भान हुन्थ्यो। ‘मन्दिरको गजुर जस्तो लाग्यो,’ सांस्कृतिक सहर भक्तपुरका ७४ वर्षीय वासुलाल अवालले भने, ‘यो हेर्दा खुसी लागेको छ।’

ट्रफीको स्वागतमा धिमे बजाउँदै गरेका विनाल श्रेष्ठले पनि यो निकै रमाइलो क्षण भएको सुनाए। ‘आफ्नै देशले जितेर ल्याउँदा पनि यसैगरी धिमे बजाउने रहर छ,’ युवा धिमेवादक श्रेष्ठले भने, ‘त्यो दिनको प्रतीक्षामा छौं।’ बाजागाजासहित ट्रफीलाई दरबार स्क्वायरबाट पाँचतले मन्दिर पुर्‍याएर फेरि दरबार स्क्वायरमै ल्याई राखिएको थियो।

टुरमा पूर्वकप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दास, नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टोलीकी कप्तान रुबिना क्षेत्री सहभागी छन्।

विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै पूर्वकप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले आफ्नो जेनेरसनले विश्वकप ट्रफी जित्न नसके पनि भाइबहिनीहरूको जेनेरेसनले जित्ने विश्वास लिएको सुनाए। ‘हामीले क्रिकेटको यो सगरमाथा चढ्न सकेनौं,’ साना भाइबहिनीका उत्साहबाट उत्साहित विनोदले भने, ‘तपाईंहरूले क्रिकेटको सगरमाथा चढ्नु हुनेछ भन्ने विश्वास छ।’

घुमाउन ल्याएको ट्रफी हेर्दा त यति रमाइलो छ, साँच्चै जितेरै ल्याए झन् कति रमाइलो होला।’ -प्रशिष्य पराजुली

अस्ट्रेलियामा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप ट्रफी नेपाल आइपुगेको हो। आइसिसी ट्रफी टुरअन्तर्गत टी–२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो।

ट्रफीलाई मंगलबार गोक्यो ताल र कालापत्थर लैजाने कार्यक्रम रहे पनि मौसमका कारण सम्भव हुन सकेन। सोमबारको पत्रकार सम्मेलनमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वारमा देखाइने कार्यक्रम बनाइएको नेपाल क्रिकेट संघ (क्यान)का महाप्रबन्धक वृत्तान्त खनालले बताएका थिए। बुधबार नै उक्त ट्रफी प्रधानमन्त्री शेरबहादुर देउवाले समेत नियालेका छन्।

‘विद्यार्थी हाम्रो ‘जेनेरेसन’ ले सकेन, भाइबहिनीहरूको जेनेरेसनले जितेर ल्याउनुहुनेछ भन्ने विश्वास लिएका छौं।’-विनोद दास, पूर्वकप्तान

भक्तपुर नगरपालिकका मेयर सुनील प्रजापतिले सांस्कृतिक नगरमा बसेर ट्रफी नियाल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिए। ‘यसले सांस्कृतिक नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ प्रजापतिले भने, ‘नगरबासीको तर्फबाट धन्यवाद दिन चाहन्छौं।’

विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको हो।

ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदै छ। अस्ट्रेलियाको सात सहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरु हुनेछ। नेपालले पनि गत वर्ष ओमानमा भएको छनोटमा भाग लिएको थियो। तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।

प्रकाशित: १६ भाद्र २०७९ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App