९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

सरुवा बजारमा नटिङ्घमको उल्लेख्य खर्च

टोटनहमका रक्षक सेर्गी औरियर इङ्लिस प्रिमियर लिगको नवप्रवेशी टोली नटिङ्घम फरेस्टमा अनुबन्धित हुने १७औं खेलाडी बने। आइभोरी कोस्टका सेर्गीबाट नटिङ्घमले प्रभावशाली प्रदर्शनको आशा गरेको छ।

नटिङ्घमले यसअघि जेसी लिंगार्ड, मोर्गान गिब्स ह्वाइट र टिओवो एओनीलाई भित्र्याइसकेको थियो। नटिङ्घमले यस पटक सरुवा बजारमा उल्लेख्य उपस्थिति जनाएको छ। २३ वर्षको प्रतीक्षापछि शीर्ष डिभिजनमा फर्किएको नटिङ्घमले प्रिमियर लिगको हैसियत जोगाउने लक्ष्यसहित सरुवा बजारमा करिब एक सय ५० मिलियन पाउन्ड खर्चिएको हो। नटिङ्घमले सरुवा बजार बन्द हुनुअघि अझै एक-दुई नयाँ अनुहार टोलीमा भित्र्याउने चर्चा चलिरहेको छ।

तर अहिले प्रश्न उठ्न थालेको छ-गत सिजन च्याम्पियनसिपको विजेताका रूपमा प्रिमियर लिगमा प्रवेश पाएको नटिङ्घमले शीर्ष डिभिजनको हैसियत जोगाउन खर्चिएको रकम पर्याप्त भयो अथवा चाहिनेभन्दा बढी।

‘धेरै खेलाडी अनुबन्धित गर्दैमा टोलीले राम्रो प्रदर्शन गर्छ भन्ने हुँदैन। टोलीमा लगातार नयाँ खेलाडीको आगमनले तालमेल मिलाउन कठिन हुन्छ,’ सन् २००० मा नटिङ्घमलाई प्रिमियर लिगमा बढुवा गराएका जर्ज ब्रुलेले भने, ‘खेलाडीलाई टोलीसँग अभ्यस्त हुन समय लाग्छ।’

सन् २००० मा इङ्लिस प्रिमियर लिगमा नटिङ्घमले पाँचौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। सन् २००८ मा हल सिटीलाई बढुवा गराएका फिल ब्राउन भने नटिङ्घमतर्फ खेलाडीहरूको आकर्षण बढ्नुमा प्रशिक्षक स्टिभ कुपरको भूमिका महत्त्वपूर्ण रहेको बताउँछन्।

‘स्टिभ कुपरकै कारण शीर्ष खेलाडी पनि नटिङ्घममा अनुबन्धित भएका हुन्’ ब्राउनले भने, ‘शीर्ष खेलाडी नवप्रवेशी टोलीमा आकर्षित हुनु सहज होइन। तर पनि उनको रणनीतिले सबैलाई आकर्षित गर्छ। उनले म्यानचेस्टर युनाइटेडका जेसी लिंगार्डलाई टोलीमा ल्याउन सफल भए।’

स्टिभ कोपेलले आफ्नो प्रशिक्षण जीवनमा आफ्नो टोलीलाई तीन पटक शीर्ष डिभिजनमा बढुवा गराए। उनले दुई पटक क्रिस्टल प्यालेस र एक पटक रिडिङलाई शीर्ष डिभिजनमा पुर्‍याएका थिए। उनले भने आफूसँग भएकै टोलीमा विश्वास देखाएका थिए। तर नटिङ्घमले भने नयाँ विकल्प रोज्यो। नटिङ्घमले च्याम्पियनसिपबाट बढुवा हुँदाको टोलीका आधाभन्दा बढी खेलाडी बेच्नुका साथै अन्यत्र लोनमा पठाएको थियो। कोपेल कुपरले सिजनको सुरुआतबाटै टोली पुनर्निर्माणमा ध्यान दिएको र त्यो सकारात्मक कदम भएको बताउँछन्।

‘मेरो अनुभवले के भन्छ भने जसले तपाईंको बढुवामा सहयोगी बने उनीहरूलाई नै निरन्तर अवसर दिनुपर्छ,’ कोपेलले भने, ‘उनीहरू बढुवाका रथ हुन्। उनीहरूलाई मिहिनेतको फल दिनुपर्छ। टोलीले बढुवा भएपछिको नयाँ सिजनमा जस्तो नतिजा ल्याए पनि ती खेलाडीमा विश्वास गर्नुको विकल्प छैन।’

यस सिजन बढुवा भएको नटिङ्घमले मात्र सरुवा बजामार महँगो रकम खर्चिएको छैन। फुलहमले पनि सन् २०१८ मा खेलाडी अनुबन्धमा एक सय ५० .३ मिलियन पाउन्ड खर्चिएको थियो। सन् २०१९ मा एस्टन भिल्लाले पनि प्रिमियर लिगको हैसियत जोगाउनकै लागि सरुवा बजारमा एक सय ४४ मिलियन पाउन्ड खर्चिएको थियो। यद्यपि फुलहम शीर्ष डिभिजन जोगाउन असफल भएको थियो भने भिल्ला मात्र एक अंकले घटुवा हुनबाट जोगिएको थियो।

नटिङ्घमले रेलिगेसन संकट टारेमा भने उनीहरूले सरुवा बजारमा खर्चिएको रकम पर्याप्त हो वा होइनको जबाफ मिल्नेछ।

प्रकाशित: ११ भाद्र २०७९ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App