६ वैशाख २०८१ बिहीबार
खेल

नवौं राष्ट्रिय खेलकुदः प्रशिक्षक बिनै सुरु भयो खेलाडी छनौट र प्रशिक्षण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण शुभारम्भ कार्यक्रममा स्वास्थ्य सामग्री वितरण गर्दै प्रदेश अर्थमन्त्री रामजीप्रसाद बराल। तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण शुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।  

प्रदेश राजधानी पोखरा सहित गण्डकी प्रदेशको एघारै जिल्लामा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमध्ये मुस्किलले ५–६ वटा खेलको मात्रै प्रशिक्षक रहेको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार फुटबल, भलिबल, क्रिकेट, आर्चरी, पौडी, बक्सिङ, तेक्वान्दो र कुस्तीका मात्रै प्रशिक्षक छन्। प्रशिक्षक अभावका बीच गण्डकी प्रदेशले शुक्रबारदेखि १४ वटा खेलको विशेष प्रशिक्षण शुरु गरेको छ।

यहि विशेष प्रशिक्षणबाट नवौं खेलकुदका लागि खेलाडी छनौट गर्ने गण्डकीको तयारी छ। गण्डकीले शुक्रबारदेखि महिला फुटबल, महिला सफ्ट टेनिस, टेनिस, क्रिकेट, महिला बास्केटबल, महिला ह्यान्डबल, स्विमिङ, ट्रायथोलन, फेन्सिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल, स्क्वास, खो–खो, हक्की, साइक्लिङ र प्याराग्लाइडिङ खेलको विशेष प्रशिक्षण शुरु गरेको हो।  

जस अनुसार कास्कीमा प्याराग्लाईडिङ, साईक्लिङ, ट्रायथोलन, महिला सफ्ट टेनिस, आर्चरी, नवलपुरमा कुस्ती, स्याङ्जामा महिला क्रिकेट र महिला फुटबल, बागलुङमा ह्याण्डबल र सुटिङ तथा गोरखामा सेपाकताक्रोको प्रशिक्षण हुने जनाइएको छ।  

विशेष प्रशिक्षण शुभारम्भ कार्यक्रमको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले उद्घाटन गरे। प्रशिक्षक बिना प्रशिक्षण चलाउनु आफूहरुको बाध्यता भएको सदस्य सचिव गुरुङले बताए। ‘हामीले प्रशिक्षक बिना नै प्रशिक्षण चलाउनु परेको छ, सदस्य सचिव गुरुङले भने, ‘अधिकांश खेलका प्रशिक्षक नहुने नियती नेपालले बेहोरिरहेको छ। त्यो नियति गण्डकी प्रदेशले पनि बेहोर्नु परिरहेको छ।’  

उनले प्रायः खेलमा अग्रज खेलाडी र परिषदले तोकेका स्वयंसेवकको भरमा प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको बताए। उनले तोकिएका प्रशिक्षकलाई प्रशिक्षण दिन वरिष्ठ प्रशिक्षक सुशीलसिंह रानालाई पोखरा बोलाइएको बताए। उनले दुई महिना पोखरामा बसेर प्रशिक्षकलाई प्रशिक्षण दिने सदस्य सचिव गुरुङले बताए। राना एथ्लेटिक्सका प्रशिक्षक हुन्। ‘प्रशिक्षकलाई पनि अपग्रेड र अपडेट गराउनुपर्ने हुन्छ। साथै मनोविज्ञान उकास्न पनि रानालाई प्रशिक्षणका लागि बोलाएका हौं,’ उनले भने।

पहिलो चरणमा १४ वटा खेलको विशेष प्रशिक्षण शुरु भएपनि दोश्रो चरणमा बाँकी २२ खेलको प्रशिक्षण शुरु गरिने सदस्य सचिव गुरुङले बताए। उनले सोझै खेलाडी छनौट खेल्ने १४ खेलको विशेष प्रशिक्षण शुरु गरिएको स्पष्ट पारे। बाँकी २२ खेलहरु भलिबल, पुरुष फुटबल, पुरुष क्रिकेट, पुरुष बास्केटबल, पुरुष ह्याण्डबल, जिम्न्यास्टिक, कराँते, बक्सिङ, एथलेटिक्स, शारिरिक सुगठन, आईटिएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराँते, भारत्तोलन, सेपाकताक्रो, कबड्डी, आर्चरी, तेक्वान्दा, उसु, रग्वी, व्याडमिन्टन, टेबलटेनिस र जुडो खेलको जिल्लाबाट छनौट भएर आएकाहरुबीच प्रतिष्पर्धा गराई खेलाडी छनौट गरेर प्रशिक्षण शुरु गरिने उनको भनाई छ।

उनका अनुसार गण्डकी प्रदेशले भदौ १५ गतेदेखि १८ गतेसम्म खेलाडी छनौट गर्दैछ। विशेष प्रशिक्षण शुरु भएका १४ र बाँकी जिल्लामा छनौट भएर आएका २२ खेलका खेलाडीहरुको छनौट यहिंबाट गरिने उनले बताए। यसअघि भदौ ९ गतेदेखि १२ गतेसम्म जिल्ला छनौट गर्ने तयारी भएको उनले जानकारी दिए। ‘स्टेट गेम्सका रुपमा ब्राण्डिङ गरी प्रदेशका खेलाडी छनौट गर्दैछौं’–उनले भने।

यसरी छनौट भएका खेलाडीलाई एक महिने बन्द प्रशिक्षणमा राखिने गण्डकी खेलकुद परिषदले जनाएको छ। सदस्य सचिव गुरुङका अनुसार छनौट भएका खेलाडीलाई भदौ २६ गतेदेखि असोज २६ गतेसम्म एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिईनेछ।

विशेष प्रशिक्षण शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पैसा अभावले नवौं राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनौट नरोकिने बताए प्रदेशमा राष्ट्रिय खेलकुद हुनु गौरवको विषय भएकाले प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको बताए । ‘रकम अभावले खेलाडी छनौट रोकिदैन। नत प्रतियोगिताको तयारी नै रोकिन्छ,’ उनले भने।

गण्डकी प्रदेशका आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरासहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एक एनआरएनएको गरेर ११ टिमले प्रतिष्पर्धा गर्दैछन्।

प्रकाशित: ३ भाद्र २०७९ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App