१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टचेलमाथि थप कारबाहीको सम्भावना

 लन्डन डर्बीमा आइतबार टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेसँग विवाद हुँदा रातो कार्डको दर्शन गरेका चेल्सीका प्रशिक्षक थोमस टचेलमाथि थप निलम्बनको सम्भावना बढेको छ।

इङ्लिस प्रिमियर लिगमा चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा टोटनहमविरुद्ध जितको संघारमा पुगेर पनि २–२ को बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो। खेलपछि टचेलले सार्वजनिक रूपमै रेफ्री एन्थोनी टेलरको समेत आलोचना गरेका थिए। खालिडो कुलिबेलीको गोलमा चेल्सीले अग्रता लिएको थियो। तर पियरी इमाइल होजबर्गको गोलमा टोटनहम खेलमा फर्किएपछि टचेल र कोन्टेबीचको विवाद सुरु भएको थियो। 

आफ्ना खेलाडीमाथि फाउल भएको र फ्रिकिक पाउनुपर्ने स्थितिमा उल्टै टोटनहमलाई गोल दिएको भन्दै आक्रोशित बनेका टचेलहोजबर्गको गोलको खुसीयाली मनाउने क्रममा कोन्टेको हाउभाउले थप रुष्ट बनेका थिए। यी दुईबीचको विवाद साम्य पार्न दुवै क्लबका पदाधिकारी र रेफ्रीहरूलाई समेत कठिन भएको थियो।  

जेम्स रिसको गोलमा चेल्सीले पुनः अग्रता लियो। जुन अग्रता खेलको अन्तिम समयसम्म कायम थियो तर इन्जुरी समयको छैटौ मिनेटमा ह्यारी केनको गोलमा टोटनहमले तीन अंकको संघारमा पुगेको चेल्सीलाई एक अंकमा चित्त बुझाउन बाध्य पारेको थियो। खेलपछि पनि यी दुईको विवाद कायमै रह्यो। हात मिलाउने क्रममा टचेलले कोन्टेको हात नछोडेपछि भने यी दुईको आक्रोशले स्टामफोर्ड ब्रिजको माहोल थप तताएको थियो।  

टचेल र कोन्टेलाई टेलरले रातो कार्डको दर्शन गराएका थिए। रातो कार्डको दर्शन गरेसँगै टचेल र कोन्टे आगामी खेलमा दर्शकदीर्घामा बस्न बाध्य हुने निश्चित छ। तर रेफ्रीमाथिको खराब प्रतिक्रियाका कारण टचेल भने थप समस्यामा परेका हुन्। टचेलले टेलरलाई चेल्सीको खेलमा भने रेफ्रीको जिम्मेवारी दिन नहुने प्रतिक्रिया दिएका थिए। 

टचेलले विगतमा पनि टेलरले चेल्सीको विपक्षमा निर्णय दिने गरेको उदाहरण भएकाले टोटनहमविरुद्ध पनि उनले सोही व्यवहार दोहोर्‍याएको आरोप लगाए। ‘विगतमा पनि टेलरले चेल्सीको विपक्षमा निर्णय दिँदै आएका थिए,’ टचेलले भने, ‘आज पनि निष्पक्ष निर्णय भएन। 

चेल्सीको एक जना मात्र समर्थकले टेलर हाम्रो विरुद्धमा छ भन्दैन, प्रत्येक समर्थक, खेलाडी र टोली व्यवस्थापक यसबारेमा जानकार छन्।’ टचेलले मैदानमा घटेको घटनालाई नियोजित रूपमा अतिरञ्जित गर्ने कार्य भएको समेत दाबी गरे।

प्रकाशित: ३१ श्रावण २०७९ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App