coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगर र जनकपुरको लोगो सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्। राजधानीमा बिहीबार दुई टोलीले एउटै कार्यक्रममार्फत आफ्नो नाम झल्किने किसिमका लोगो सार्वजनिक गरेका हुन्।

विराटनगर र जनकपुरमा भारतीय मालिक रहेका छन्। प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुँदै छ। आयोजनाको अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको छ भने दुई टोलीको टुङ्गो लाग्न बाँकी छ।

सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय मालिक रहेका छन्। लिगमा विराटनगर र जनकपुरसहित ६ टोलीले सहभागिता जनाउँदै छन्। कान्तिपुर क्यापिटल नाम भएको नेपाली टोलीमा कान्तिपुरका महेश स्वाँर मालिक रहेका छन्।

लुम्बिनी अल स्टार नाम रहेको दोस्रो टोलीमा अमेरिकी मालिक सञ्जय शर्मा छन् भने भारतीय विक्रम यादव मालिक रहेको विराटनगर सुपर किङ्ससँग डायमन्ड डिजिक्याप प्रालि जोडिएको छ। यस्तै अर्को भारतीय मालिक रहेको टोली जनकपुर रोयल्ससँग गोल्ड स्पोर्टस प्रालि जोडिएको छ।

जनकपुरमा गौरीशंकर धमानी मालिक छन्। क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एक मात्र आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ।

नेपाल क्रिकेट संघको ड्रिम प्रोजेक्टका रूपमा हेरिएको टी–२० लिग आयोजना गर्दा नेपाली क्रिकेट, नेपाली क्रिकेट खेलाडी लाभान्वित हुने क्यानले बताउँदै आएको छ। 

प्रकाशित: २० श्रावण २०७९ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App