७ वैशाख २०८१ शुक्रबार
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः एथ्लेटिक्सका खेलाडी ट्रयाकमा प्रशिक्षणबाट बञ्चित

खेल व्यवस्थापन समिति मैदान खोज्न व्यस्त

पोखरा रंगशाला

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान व्यवस्थापन समितिलाई खेल मैदान खोज्नै हम्मेहम्मे परेको छ। प्रतियोगिताका लागि मैदान खोज्दै भौतारिनुपर्ने अवस्था छ। राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको मैदान अवलोकन गर्दै कुन खेल कहाँ खेलाउँदा उपयुक्त हुन्छ भन्ने ध्येय सहित अवलोकनमा टिम केन्द्रित छ। तर पोखरा रंगशालाभित्रै बनेको पूर्वाधारमा भने खेलाडीले प्रशिक्षण गर्ने अवसर पाएका छैनन्।  

पोखरा रंगशालास्थित फुटबलमैदान सहित १ अर्ब २८ करोडमा निर्मित एथलेटिक्स ट्रयाक(सिन्थेटिक)मा ठेकेदार कम्पनीले जो कोही नछिरोस भन्दै तालाबन्दी गरेर राखेको छ। निर्मित पूर्वाधार राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण भईसकेको छैन्। हस्तान्तरण नहुँदा कम्पनीले तालाबन्दी गरेर राखेको हो। तालाबन्दीकै कारण एथलेटिक्सका खेलाडी प्रशिक्षणको अवसरबाट बञ्चित छन्। हुन त पोखरा रंगशालाभित्रैको एथलेटिक्स ट्रयाकमै राष्ट्रपति रनिङशिल्डका इभेण्टहरु आयोजना गरिएका थिए। तर अहिले नवौंको संघारमा रहँदा फेरी तालाबन्दी हुनपुग्दा खेलाडी बाहिरै दौडिनुपर्ने बाध्यता छ।  

‘हामीले राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स ट्रयाकमै आयोजना गर्यौं। तर नवौं राष्ट्रिय प्रतियोगिताको लागि भने केही सुरसार छैन,’ कास्की जिल्ला एथलेटिक्स संघका सचिव श्याम श्रेष्ठले भने, ‘संघले खेलाडीहरुलाई खेलमैदान (एथलेटिक्स ट्रयाक) व्यवस्थापन गर्न सकिरहेको छैन्।’ खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको सिन्थेटिक ट्रयाकमा प्रशिक्षण गराउन नसक्नु संघकै कमजोर रहेको समेत उनको भनाई थियो। एथलेटिक्समा गण्डकी प्रदेशको प्रदर्शन लोभलाग्दो छैन्। उत्साहजनक प्रतिफल पाउन सकेको छैन्।  

ठेकेदार कम्पनीले हस्तान्तरण नगर्दासम्म ट्रयाक खेलाडीको पहुँचमा पुग्दैन। खेलाडीको पहुँचमा पु¥याउन राष्ट्रिय खेलकुद परिषदले ध्यान दिनुपर्ने खाँचो छ। ‘हामी नवौंको तयारीमा छौं। मैदान अवलोकन गरिरहेका छौं। एथलेटिक्स ट्रयाकको विषयमा परिषदबाटै हल गर्नुपर्छ,’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल व्यवस्थापन समितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिनाले भने, ‘खेलाडीलाई खेल्ने बातावरण बनाउन परिषदसँग पहल गर्छौं।’ उनले ठेकेदार कम्पनीको समस्यालाई परिषदबाटै पहल गर्नुपर्ने भन्दै गाँठो फुकाउँदै जाने स्पष्ट पारे।  

पोखरा रंगशालास्थित फुटबल मैदानसहित प्यारापिट र एथलेटिक्स ट्रयाक(सिन्थेटिक) निर्माणको जिम्मेवारी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी)ले लिएको हो। जिम्मेवारी अनुसार ठेकेदार कम्पनीले काम लगभग पुरा गरेको छ। यद्यपी हस्तान्तरण हुन सकेको छैन्। हस्तान्तरण नहुदाँ दुईवर्ष पोखरा रंगशाला फुटबल मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आयोजना गरिएको थियो।  

त्यसपछि सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकपका दुई संस्करण सम्पन्न गरियो। परिषदले कम्पनीलाई बुझाउनुपर्ने भुक्तानी नबुझाउँदा ठेकेदार कम्पनीले परिषदलाई बनेको पूर्वाधार हस्तान्तरण गरेको छैन्। ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अघि नै हस्तान्तरण गर्छौ’ कम्पनीका प्रोजेक्ट मेनेजर दिपक बरालले भने, ‘परिषदले कम्पनीको बाँकी भुक्तानी दिनुपर्यो। भुक्तानीपछि हस्तान्तरण गरिदिन्छौं।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा ३९ वर्षपछि आयोजना हुने गईरहेको हो। प्रतियोगिताको लागि साढे दुई महिनाको समय छ। 

प्रकाशित: ९ श्रावण २०७९ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App