८ वैशाख २०८१ शनिबार
खेल

लोमान्थाङमा गल्फको प्रवर्द्धनात्मक खेल

लोमान्थाङको लोवाथाङस्थित गल्फ कोष । बनाउँदै गरेको ग्रिनमा पटिङ गर्ने क्रममा विष्ट। तस्बिर सौजन्य: इन्द्रधारा विष्ट

उकाली ओराली छैन। हिड्दा श्वासप्रश्वास बढ्ला भन्ने चिन्ता छैन। मैदान फराकिलो र समथर छ। मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङको त्यही फराकिलो समथर मैदानमा पोखरेली गल्फरले प्रवर्द्धनात्मक गल्फ खेले। ४ हजार ६ सय ४५ मिटरको उचाईको अल्टिच्युडमा गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टसहित पोखराका चार गल्फरले शनिबार गल्फ खेल्दै कोर्षको स्केच गरेका छन्।  

‘आज ९ होल खेल्यौं,’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुबहादुर गुरुङ(भुवन)ले भने, ‘अल्टिच्युडमा गल्फको मजा बेग्लै रह्यो। अब कोर्षलाई व्यवस्थित बनाई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्छ।’ विहान हावा चल्दैन्। दिउँसो र साँझ हावा बढी चल्छ। तर गल्फरले हावाको बेगसँगै सन्तुलित खेल्न सक्छन्। ‘हावामा गल्फरले खेल्छन्,’ उनले भने, ‘हावा चलेको बेला कसरी खेल्ने भन्ने गल्फरलाई थाहा हुन्छ। हावाले खासै असर गर्दैन्।’  

उनको बुझाईमा लोमान्थाङ आफैंमा अल्टिच्युड हो। त्यसभन्दा माथि गल्फ कोर्ष बनाईएको छ। यातायातको सहज पहुँज छ। यद्दपी एकैदिन पुगेर खेल्दा अल्टिच्युड लाग्ने सम्भावना रहन्छ। अल्टिच्युड नलाग्ने एकैदिन कोर्षमा पुगेर खेल्न सक्छन्। अन्यथा एकदिन लोमान्थाङमा आराम गरेर दोस्रो दिनमा खेल्न सहज हुने उनको अनुभव थियो। ‘हिँउ पर्ने सिजन बाहेक अरुबेला जुनसुकै समयमा पनि लोमान्थाङमा गल्फ खेल्न सकिन्छ,’ उनको भनाई थियो।  

लोमान्थाङमा गल्फ कोर्ष निर्माणसँगै मुस्ताङलाई हाईअल्टिच्युड स्पोर्टस हब बनाउने सपना गण्डकी प्रदेश सदस्य विष्टको पुरा भएको छ। उनले यसै वर्षभित्र गल्फ प्रतियोगिताको लागि समन्वय गर्ने जनाएका छन्। ‘कोर्ष बनाउने सपनाले पनि साकार रुप लिदैं छ,’ विष्टले भने, ‘अझै व्यवस्थित रुपमा टिबक्स, बंकर, ग्रिन बनाएर व्यावसायिक रुपमा अगाडि बढ्छौं।’ उनका अनुसार शनिबार विहानी समयमा खेल्दा आनन्द लियौं।  

लोमान्थाङमा गल्फ खेलेपछि स्थानीय युवा पनि दंग छन्। क्याडी गर्ने अवसर पाएकोमा आफैंमा दंग देखिएका छन्। क्लब बोकेर गल्फरसँगै डुल्ने र सिक्ने अवसर पाएको विष्टको भनाई थियो। विष्ट आफैंले आफनै थलोमा लङ्गेष्ट ड्राईभ हिर्काउँदै गल्फको शुरुवात गरेका थिए। जुन ऐतिहासिक थियो। दुईदिने प्रवद्र्धनात्मक खेलले लोमान्थाङमा हाइअल्टिच्युड गल्फको सम्भावनालाई झल्काईदिएको विष्टले सुनाए।  

विष्टले पार ४ (३५० यार्ड) हिर्काउँदै गल्फको शुरुवात गरे। योसँगै लोमान्थाङमा सर्वाधिक उचाईको गल्फ कोर्ष बनाउने सपनाले साकार रुप लिएको छ। पोखराबाट पुगेका चार गल्फरसँगै विष्टले दोस्रो दिन ९ होलको प्रवद्र्धनात्मक खेल पस्किएका थिए।  पोखराका प्रो गल्फर भुबहादुर गुरुङ(भुवन), एमेच्योर गल्फर राजु थकाली एमेच्योर बलराम थापा, अर्का गल्फर भक्तराज गुरुङले आईरन निकाल्दै गल्फको ऐतिहासिक अवसरमा सहभागिता जनाए। गल्फ कोर्ष लोमान्थाङबाट झण्डै ८ सय मिटर उचाईमा पर्छ।

कोर्ष तयार भएपछि विधिवत प्रतियोगिता आयोजना गरेपछि यो विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष बन्ने छ। ‘गल्फ कोर्ष हाई अल्टिच्युडमा पर्छ। चारैतिर हिमाल देखिन्छ। चौर पनि फराकिलो छ,’ प्रो गल्फर एवं नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले अनुभव साट्दै भने, ‘कोर्षको स्केच तयार पारिसकिएको छ। स्केच अनुसार ग्रिनको डिजाईन बनाईदिएका छौं। विष्टले डिजाईन अनुसार काम गर्नुहुन्छ।’  

प्रकाशित: १९ असार २०७९ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App