coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सलाह थप तीन वर्ष लिभरपुल

आफ्नो नयाँ गन्तव्यबारे जारी अनेक अनुमानमा पूर्णविराम लगाउँदै मोहम्मद सलाहले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

इजिप्टका स्ट्राइकर सलाहले गत सिजन पनि एन्फिल्ड यात्रा यादगार बनाएका थिए। तर, सलाहको नयाँ सम्झौताको प्रस्तावमा क्लब सहमत नभएपछि उनी अन्यत्र जाने खबर सार्वजनिक भएको थियो। अन्तत् पिएफए प्लेअर अफ दी इयर सलाह योर्गान क्लोपको टोलीमै रहने भएका छन्। उनी सन् २०१६ सम्म एन्फिल्डमै रहनेछन्। ‘मलाई खुसी लागिरहेको छ र निकै उत्साही पनि छु। म लिभरपुलबाट धेरैभन्दा धेरै उपाधिका साथ एन्फिल्ड बसाइँ यादगार बनाउन चाहन्छु,’सलाहले भने,‘म र क्लबबीचको नयाँ सम्झौताका लागि चाहिनेभन्दा बढी नै समय लाग्यो। तर,अहिले अवस्था सामान्य बनिसकेको छ। अब हामी आगामी लक्ष्यमा केन्द्रित हुन आवश्यक छ।’

सलाहले पछिल्ला केही सिजनयता लिभरपुलले आफूलाई लगातार उपाधि दाबेदारको रूपमा उभ्याएको र आगामी सिजनमा समेत सोही लय कायम राख्नुपर्ने बताए। ‘पछिल्ला पाँच वर्षमा हामीले आफ्नो स्तरमा निकै सुधार गरेका छौं,’सलाहले भने, ‘गत सिजन हामी एकै सिजन चार उपाधिको कीर्तिमान नजिक समेत पुगेका थियौं। तर, दुर्भाग्यवश हामीले प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जित्न सकेनौं। हामीले लिग कप र एफए कप भने जित्यौं।’

’एफए कप र लिग कप विजेता लिभरपुल प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा पछि रहँदै दोस्रो स्थानमा बस्न बाध्य भयो भने च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडलाई १-० को नतिजा सुम्पिएको थियो। सलाह र लिभरपुलबीचको सम्झौता सन् २०२३ सम्मका लागि कायम थियो।

साडियो माने सम्झौताको एक वर्ष बाँकी रहे पनि जर्मन बुन्डेस लिगाको क्लब बायर्न म्युनिखमा गएपछि सलाहको पनि पाँच वर्षको एन्फिल्ड बसाइँमा पूर्णविराम लाग्ने अनुमान गरिएको थियो।

क्लोपले पनि सलाह लिभरपुलमै रहनेमा विश्वस्त हुन आग्रह गर्दै आएका थिए। ‘सलाह हामीसँग थिए र हामीसँगै छन्,’क्लोपले भने, ‘उनको एन्फिल्ड बसाइँ थप सफल हुनेमा विश्वस्त छु। सलाहले राम्रो निर्णय लिए। यो उनकै क्लब हो। उनले सम्झौताका लागि केही समय लगाए। त्यसमा क्लबको कुनै गुनासो छैन। सलाह उत्कृष्ट खेलाडी हुन्। उनले पाँच वर्षको एन्फिल्ड बसाइँमा क्लबलाई धेरै सफलता दिलाएका छन्।’ सलाह सन् २०१७ मा एएस र रोमाबाट एन्फिल्ड भित्रिएका थिए। उनले लिभर पुल बसाइमा दुई सय ५४ खेलमा एक सय ५६ गोल गरेका छन्।  

प्रकाशित: १९ असार २०७९ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App