८ वैशाख २०८१ शनिबार
खेल

‘लेवान्डोवस्की विश्वकै उत्कृष्ट स्ट्राइकर ’

सेनेगलका स्ट्राइकर साडियो मानेले रोबर्ट लेवान्डोवस्कीलाई विश्वकै उत्कृष्ट स्ट्राइकरको संज्ञा दिए पनि उनको जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखको भविष्यका बारेको प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन्।

लेवान्डोवस्की स्पेनिस ला लिगाको क्लब बार्सिलोना जाने खबर सार्वजनिक भइरहेको छ। बायर्नमा आठ सिजन बिताएका लेवान्डोवस्कीले सम्झौताको एक वर्ष बाँकी रहे पनि गत सिजननको अन्त्यसँगै आफूलाई फुकुवा गर्दिन क्लब समक्ष आग्रह गरिरहेका छन्।

बायर्न आउनुअघि लेवान्डोवस्कीले चार सिजन बोरुसिया डर्टमन्डमा बिताएका थिए। माने भने हालै मात्र इङ्लिस प्रिमियर लिगको क्लब लिभर पुलबाट बायर्नमा भित्रिएका थिए। लिभर पुलसँग एक वर्षको सम्झौता बाँकी रहे पनि मानेले क्लब छोड्ने इच्छा व्यक्त गरेका थिए।

जसमा क्लब सहमत भएको थियो। मानेले लिभर पुल बसाइमा इङ्लिस प्रिमियर लिग, एफए कप, इङ्लिस लिग कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो। सन् २०२१ मा मानेकै प्रेरणामा सेनेगलले इजिप्टलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो।

मानेले आफू बायर्न आउँदा खुसी रहेको र त्यहाँ लेवान्डोवस्कीसँग खेल्न पाउनु विशेष क्षण हुने भए पनि उनको भविष्यका बारेमा भने कुनै प्रतिक्रिया नदिने बताए। ‘स्पष्ट रूपमा भन्नुपर्दा लेवान्डोवस्की विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्,’ मानेले भने, ‘तर उनको बायर्न भविष्यको बारेमा बताउने मलाई कुनै अधिकार छैन र म यसमा संलग्न हुन चाहन्नँ। त्यो क्लब र उनीबीच हुने कुरा हो।’

गत सिजन बुन्डेसलिगाको अन्तिम खेलपछि लेवान्डोवस्कीले अर्को सिजनका लागि बायर्नमा आफ्नो भविष्य नदेखेको बताएका थिए। मानेले बुन्डेसलिगा च्याम्पियन बायर्नलाई आफनो स्वाभाविक दबदबा कायम राख्न सहयोगी भूमिका खेल्ने बताए।

‘मैले बायर्नको खेल हेरेको छु। बायर्नले घरेलु लिगमा दबाब कायम राखे पनि च्याम्पियन्स लिगमा भने कुनै जादु देखाउन सकेको छैन,’ मानेले भने, ‘मलाई पनि च्याम्पियन्स लिगबाट बाहिरिँदाको पीडा थाहा छ। हामी पनि च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग निराश भएका थियौं। म सबैलाई के भन्न चाहन्छु भने अब च्याम्पियन्स लिगमा बायर्नले दबाब बढाउनेछ। बायर्न फरक शैलीमा उत्रनेछ। हामी च्याम्पियन्स लिगको उपाधि जित्न सक्षम टोली हौं। हामो टोलीमा क्षमतावान् खेलाडीको कमी छैन। बायर्न युरोपकै उत्कृष्ट क्लबमध्येको एक हो।’

प्रकाशित: १७ असार २०७९ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App