coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिस्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो।

उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो।

दोस्रो सेटमा २५–१४ दस्कोर निकाल्दै फर्किने संकेत देखाएको एपिएफले बाँकी सेटमा सम्हालिएको प्रदर्शन गर्न सकेन। नियमित स्पाइकर र केही अनुभवि खेलाडी बिना मैदान उत्रिएको एपिएफले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० गुमाउन पुगेको थियो।

यससँगै लिगका सबै खेल सकिएका छन्। राउण्डरोबिन लिगको आधारमा सञ्चालन भएको खेलमा अपराजित रहँदै पुलिस शीर्ष स्थानमा अटायो भने एपिएफ दोस्रो स्थानमा रह्यो। यी दुई टोलीबीच नै उपाधि भिडन्त हुने भएको हो।

यस अघि बिहीबार नै सम्पन्न दिनको पहिलो खेलमा भने आयोजक न्यु डायमण्ड एकेडेमीले परोपकार गल्र्स होस्टललाई हराएर जारी प्रतियोगितामा पहिलो जित निकाल्यो। सहभागी मध्येको कमजोर देखिएको परोपकार टोलीमाथि न्यु डायमण्डले सोझो सेटमा जित निकाल्न सफल भएको हो।

सुरुवातबाट नै दबाव दिएर खेलेको न्यु डायमण्डले परोपकारमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकालेको हो। प्रतियोगितामा तीन खेल खेलेको डायमण्डले एक जित र दुई हार बेहोरेको छ। अब डायमण्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिष्पर्धा गर्नेछ। खेल शनिबार हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ। यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, व्यक्तिगत विधा तर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउने छन्।

प्रकाशित: १६ असार २०७९ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App