८ वैशाख २०८१ शनिबार
खेल

आउने भए प्रशिक्षक अल्मुताइरी!

असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधरणसभाले आगामी चार वर्षका लागि नेतृत्व चयन गर्दै थियो। अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ चुनावी मैदानमा थिए।

सबैको ध्यान अध्यक्ष पदको मतगणनामा थियो। नेम्बाङले शेर्पालाई निराश पार्दै अध्यक्ष बन्ने लगभग पक्का भइसकेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सन्जाल मार्फत नेपाल नफर्कने आशयसहितको पोस्ट गरे र तुरुन्तै हटाए पनि।

त्यसो त नेम्बाङ र अल्मुताइरीबीच सुमधुर सम्बन्ध छैन। दुई वर्षअघि नेम्बाङ वरिष्ठ उपाध्यक्ष रहँदा उनले प्रशिक्षणमा बाधा पुर्‍याएको भन्दै अल्मुताइरीले सामाजिक सन्जालमार्फत नै राजीनामा घोषणा गर्दै केही क्षणमै एन्फामा राजीनामा पत्र बुझाउन जान लागेको बताए। नेपाली समर्थकमाझ निकै लोकप्रिय रहेका अल्मुताइरीले तत्कालीन अध्यक्ष शेर्पाको उक्साहटमा सोही लोकप्रियताको फाइदा उठाउँदै नेम्बाङमाथि धावा बोलेको चर्चा नचेको होइन। अल्मुताइरीले नेम्बाङले नियोजित रूपमै आफूलाई असफल पार्न दुई पत्रकार खटाएको समेत दाबी गरेका थिए। जसको छानबिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरे पनि कसैमाथि पनि कारबाही प्रक्रिया अघि बढेन।

त्यसपछि नेम्बाङ र अल्मुताइरी स्थायी शत्रुजस्तै देखिए। नेम्बाङ र अल्मुताइरीबीचको विवाद समाधानका लागि नेपालका लागि कतारका राजदूत आफैँ सक्रिय भएका थिए।

एन्फामा चुनावी रौनक छाइसकेको थियो। वैशाख दोस्रो साता अल्मुताइरी र राष्ट्रिय टोलीका ११ खेलाडीबीचको विवाद उत्कर्षमा पुग्यो। खेलाडी होटल छोड्दै प्रशिक्षणबाट बाहिरिए। अल्मुताइरीले यी खेलाडीबिनै बन्द प्रशिक्षणलाई निरन्तरता दिए। एएफसी एसियन कप छनोटमा समेत यी खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय टोलीको घोषणा गरे। जसमा कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुलाई समेत समावेश गरिएन।

अल्मुताइरी र खेलाडीबीचको विवाद समाधानका लागि गठिन कमिटीले एएफसी एसियन कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न भन्दै एन्फालाई प्रतिवेदन बुझाएको थियो।

नेम्बाङ प्यानलले चुनावमा होमिँदा मुख्य एजेन्डा नै खेलाडीलाई न्याय प्रदान गर्ने रहेको थियो। नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे।

सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ। सम्भवत नेम्बाङले चुनाव जित्ने निश्चित भए पनि अल्मुताइरीले गरेको पोस्टले पनि त्यसैलाई झल्काउँथ्यो।

अध्यक्षमा निर्वाचित भएपछि नेम्बाङले पत्रकारहरूलाई सक्षिप्त प्रतिक्रिया दिँदै कार्यसमितिको पहिलो बैठकले खेलाडी र प्रशिक्षकबारे ठोस निर्णय लिने जनाएका थिए।

बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले खेलाडी र प्रशिक्षक विवादबारे ठोस निर्णय लिने अनुमान गरे पनि त्यो पूरा भएन। सो बैठकले गरेको सात निर्णयमध्ये पाँचौ बुँदामा लेखिएको छ, राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदन अनुसार खेलाडीको हकमा ससम्मान राष्ट्रिय टोलीमा फिर्ता बोलाउने र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वयन गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो।

सो निर्णयपछि सबैको अनुमान थियो अल्मुताइरीको नेपाल यात्रामा पूर्णविराम लाग्यो। तर शुक्रबार महासचिव किरण राईसँगको संवादमा भने अल्मुताइरीले आफू अहिले बिरामी बिदामा रहेको र तीन महिनाको बिदापछि प्रशिक्षण सम्हाल्ने जनाए। त्यसपछि भने एकाएक अल्मुताइरीको नेपाल बसाइ लम्बिने चर्चा चुलिएको छ।

‘हामीले कार्यसमितिको निर्देशनअनुसार मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग सम्पर्क गरेका थियौं,’ राईले भने, ‘उहाँ आएपछि त्यसबारे थप छलफल हुनेछ। त्रिपक्षीय छलफलपछि मात्र हामी निस्कर्षमा पुगेनौं। हाललाई हामीले उहाँको कार्ययोजना मगाएका छौं।’

अल्मुताइरीले भने शनिबार सामाजिक सन्जामार्फत नेपाली राष्ट्रिय फुटबल टोलीको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘वान टिम, जय नेपाल, नेक्सट टार्गेट फिफा विश्वकप २०२६ र एसियन कप २०२७ छनोट। साफ कप २०२३।’ उनको आशय स्पष्ट रूपमा नेपाल फर्कदै जिम्मेवारी सम्हाल्ने रहेको छ। उनी फर्किएपछि उनीसँगको छलफलपछि मात्र यस विषयमा अन्तिम निर्णय लिने एन्फाको रणनीति छ।

प्रकाशित: १३ असार २०७९ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App