८ वैशाख २०८१ शनिबार
खेल

पोखरा स्पोर्टस अवार्डको नोमिनेसन सार्वजनिक

पोखरा स्पोर्टस अवार्ड २०७९ को नोमिनेसन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन। तस्बिरः उमेश पुन/नागरिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही असार १८ गते पोखरामा आयोजना गर्ने स्पोर्टस अवार्ड–२०७८ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३–३ जनाको नाम सार्वजनिक गरेको छ। वर्ष सर्वोत्कृष्ट पुरुष विधामा विधान अधिकारी (व्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) नोमिनेसनमा परेका छन्।

वर्ष सर्वोत्कृष्ट महिला विधामा अरुणा शाही (भलिबल), मनिशा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) नोमिनेसनमा परेका छन्। त्यस्तै, वर्ष उदीयमान खेलाडीमा दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैशी (क्रिकेट) र शाहील लिम्वु (बक्सिङ) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा (टेनिस) नोमिनेसनमा परेको मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए।

मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा सातविधामा अवार्ड वितरण गर्दै आएको छ। बाँकी ३ विधा मध्ये लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल संघको छनौट केही दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। उनका अनुसार वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड भने मूल समारोहमै घोषणा गरिनेछ।

मञ्चले यही असार १८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्दैछ। जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ। मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक–एक थान ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ।

त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५–३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए। मञ्चले अवार्डको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ। अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चले अध्यक्ष दीनानाथ बरालको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ।

प्रकाशित: ११ असार २०७९ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App