७ वैशाख २०८१ शुक्रबार
खेल

जसले तेस्रो प्रयासमा पाए विमान पस्ने अनुमति

काबुल विमानस्थलको स्थिति निकै भयावह थियो। तालिवान र अफगानिस्तानका सेनाबीचको युद्धका कारण सबै त्रासमा बाँचिरहेका थिए। हजारौं अफगानी नागरिक देश जोड्न चाहन्थे र तीमध्ये एक थिइन् फाती।

फाती गोलकिपर हुन्। टेलिभिजनमा सिरिज र फिल्म हेरेरै उनले आफूमा अङ्ग्रेजी बोल्ने गज्जबको कला सिकेकी थिइन्। अगस्ट २०२१ मा विद्रोही समूह तालिवान पुनः अफगानिस्तानको सत्तामा फर्किएको थियो। फातीसँगै अफगानिस्तानका राष्ट्रिय महिला फुटबल टोलीका अधिकांश सदस्यले देश छोड्ने निर्णय लिए। आफ्नो मातृभूमि र घरपरिवार छोड्न उनीहरूलाई पक्कै सहज थिएन।

उनीहरूले कैयौं वर्ष सँगसँगै खेले एउटा फुटबल टोलीबाट, जसले अफगानिस्तानलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरायो। उनीहरूले अफगानिस्तानमा स्वतन्त्रताको अनुभूति गर्न सुरु मात्र गरेका थिए एकाएक स्थिति परिवर्तन भयो। अफगानी नागरिकको स्वतन्त्रता खोसियो, जसरी तालिवान सन् २९९६ देखि २००१ सम्म सत्तामा रहँदा खोसिएको थियो।

फातीलाई अफगानिस्तान फर्कने सम्भावना अब पूरा होलाजस्तो लाग्दैन। राष्ट्र र परिवारबाट अलग बस्दा उनी निराश छिन्। ‘म अब अफगानिस्तान फर्कन पाउँछु भन्नेमा विश्वस्त छैन,’ उनले भनिन्, ‘कुनै सम्भावना नै छैन भन्दा पनि हुन्छ। किनभने म पुनः अफगानिस्तान फर्किएर आफ्नो अधिकारका लागि लड्न सक्दिनँ। न विद्यालय, न सञ्चार, न खेलाडी, त्यहाँ सबै कुरामा प्रतिबन्ध मात्र छ। अफगानी नागरिक अहिले जिउँदो लाससरह भएका छन्।

अफगानिस्तान युद्धको भुमरीमा परिरहँदा म दुई साता निदाउन सकिनँ। हामीलाई कसैले सहयोग गर्छ कि भन्ने आशामा बसिरह्यौं। तर पनि हामीले सहयोग पाएनौं। फाती र उनको टोली सहयात्रीले एउटा उपाय निकाले। उनीहरूलाई एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सहयोग गर्ने भयो, जो वर्षौंदेखि महिलाको हकअधिकारका लागि लड्दै आएको थियो।

अफगानिस्तानका नागरिक युद्धको भुमरीमा रहँदा त्यहाँको महिला खेलाडीको उद्धार गर्ने योजना भने अमेरिकाको होस्टनमा बनिरहेको थियो। जसको नेतृत्व हाइले कार्टरले गरिरहेकी थिइन्। उनी पनि फुटबल खेलाडी नै हुन्।

‘हामीले सामाजिक सन्जाल ह्वाट्स एपमार्फत अफगानिस्तानको महिला खेलाडीको उद्धार कार्य सञ्चालन गरेका थियौं,’ कार्टरले भनिन्, ‘मलाई हाम्रो योजना सफल होला जस्तो लागैकै थिएन। अहिले हामीले त्यो कार्य सफल पारेकोमा गर्व लाग्छ।’

कार्टरको सहयोगीका रूपमा खदिला पोपल देखिएकी थिइन्, जो वर्षौंसम्म अफगानिस्तानको महिला राष्ट्रिय टोलीकी सदस्य थिइन्।

तालिवानको धम्कीका बावजुद पनि पोपल आफ्ना साथीहरूसँग फुटबल प्रशिक्षणलाई निरन्तरता दिन्थिन्। सन् २०११ मा भने उनले ज्यान मार्ने धम्कीकै कारण अफगानिस्तान छोडेकी थिइन्। हाल उनी डेनमार्कमा छिन्।

पोपल अफगानिस्तानका महिला खेलाडीले आफूहरूले पाएको जस्तै दुख नपाऊन् भन्नेमा सतर्क थिइन्। त्यसैले तालिवान सेना घरघरमा महिला खेलाडी खोज्दै हिँड्नुअघि नै उनले फातीसहित अन्य खेलाडीलाई सामाजिक सन्जालमा आफ्नो एकाउन्ट बन्द गर्न, खेलकुद सामग्री र ट्रफीहरू जलाउन सुझाइन्।

‘एउटा खेलाडीले आफ्नो खेलकुद सामग्री र उपाधि जलाउन सहज थिएन किनभने त्यो हामीहरूको मिहिनेतको फल थियो,’ पोपलले भनिन्, ‘तर पुनः जीवन जिउन पाएमा पुनः त्यस्तै सफलता पनि त निकाल्न सकिन्छ।’

‘पोपलले हामीलाई देश छोड्नका लागि तयार भएर विमानस्थलमा आउन सन्देश पठाइन्,’ फातीले भनिन्, ‘उनले हामीहरूलाई विमानस्थल आउँदासम्मको जिम्मा लिन सक्दिनँ तर विमानस्थलभित्र पसेपछिको जिम्मा भने लिन सक्छौ भनेकी थिइन्।

विमानस्थलमा हजारौं मानिस थिए। जो जीवन बचाउन संघर्ष गरिरहेका थिए। जसको नाम लिस्टमा छ त्यो मात्र विमानभित्र जान पाउँथ्यो। हामीलाई उत्तरी गेटबाट एक अमेरिकी सैनिकले विमानस्थलभित्र पुर्‍याइदिएका थिए। तर विमानस्थलभित्र पुगेपछि अमेरिकी सैनिकले अमेरिकी भिसा भए विमानमा प्रवेश गर्ने दिने नभए फिर्ता पठाउने बताए। हामी आत्तियौं। मैले कार्टरलाई सम्पर्क गर्दै सबै कुरा बताएँ।’

फाती र उनका साथीसँग कुर्नुबाहेकको विकल्प थिएन। ‘हामी ४८ घण्टा विमानस्थलबाहिर  बस्यौं,’ फातीले भनिन्, ‘हामीलाई निकै डर लागिरहेको थियो। सबैले घर फर्कने मनसाय बनाइसकेका थिए। हामीले पुनः प्रयास गर्‍यौं। दुई पटक हामी असफल भयौं ’ फातीले भनिन् ‘तेस्रो प्रयासमा विमानस्थलभित्र प्रवेश गरेर अस्ट्रेलियन सेनाको सहायता लियौं। हामीले आफूहरू राष्ट्रिय फुटबल टोलीका सदस्य हौं भन्यौ। हाम्रो कागजात हेरेपछि उनीहरूले हामीलाई विमानसम्म जाने व्यवस्था मिलाइलिए। हामी बाँच्न चाहन्थ्यौं र त्यो पूरा भयो। हामी अझै पनि अवाजविहीन अफगानी नागरिकको आवाज बन्न चाहन्छौं।’ अस्ट्रेलियामा फाती र उनका साथीका लागि फेब्रुअरीबाट मेलबर्न भिक्टोरीले प्रशिक्षणको व्यवस्था मिलाइदिएको थियो। ‘नयाँ आशा पलाएको छ,’ उनले भनिन्, ‘हामी सहजै हार मान्ने पक्षमा छैनौं।

कार्टर र फातीको भेट भने गत अप्रिलमा मात्र भएकोे थियो। ‘फाती सबैका लागि उदाहरण बनेकी छिन्,’ कार्टरले भनिन्, ‘उनले जसरी महिला खेलाडीको उद्धारमा नेतृत्वदायी भूमिका निभाइन्। उनीहरू सबै मेरा लागि प्रेरणा हुन्।’

प्रकाशित: ११ असार २०७९ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App