coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इलाम जिल्ला भलिबल संघमा विवाद

जिल्ला भलिबल संघभित्रको विवाद छताछुल्ल भएको छ। संघका जिल्ला अध्यक्ष डाकप्रसाद गौतम नै सहभागी नभइ जिल्ला अधिवेशन सम्पन्न भएर नयाँ समिति चुनिएपछि संघभित्रको विवाद सतहमा आएको हो।

अध्यक्ष गौतमले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी आफूले स्थगित गरेको अधिवेशन आफ्नो अनुपस्थितिमा अन्य पदाधिकारीले सम्पन्न गर्नु विधानविपरीत भएको बताए। ‘हामीले जिल्लामा २०७४ सालमा गठन गरेको भलिबल संघको अध्यक्ष अहिले पनि मै हो,’ उनले भने, ‘असार ४ गते स्थगित गरेको अधिवेशन असार ६ गते सम्पन्न भएको भनेर अर्काे नयाँ समिति बनाइएछ, मलाई थाहै थिएन।’

गौतमकै अध्यक्षतामा असार ३ मा बसेको संघको बैठकले असार ६ मा अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। तर, अध्यक्ष गौतमले असार ४ मा सूचना जारी गरी ‘नेपाल भलिबल संघ र जिल्ला भलिबल संघको विधान बाझिएको’ भन्दै ६ गतेको अधिवेशन स्थगित गरे। ‘भलिबल संघको विधान केन्द्र र इलाम जिल्लामा फरक–फरक छ,’ गौतमले भने, ‘हामीले ०७४ सालमा गठन गरेको जिल्ला भलिबल संघ जिल्ला प्रशासनमा दर्ता छ। त्यो अधिवेशन यहींको विधानअनुसार भएको थियो, अहिले चाहिँ कुन विधानअनुसार अर्काे समिति बन्यो, मलाई थाहा भएन।’  

गौतमले ३ गतेको बैठकले असार ६ मा जिल्लाकै विधानअनुसार अधिवेशन गर्ने सहमति जिल्लामा भएपनि त्यसपछि नेपाल भलिबल संघको पत्र आएको बताए। ‘केन्द्रबाट केन्द्रीय विधानअनुसार जिल्ला अधिवेशन गर्न पत्र आएपछि मैले विधान प्रस्ट नहुञ्जेलका लागि अधिवेशन स्थगित गर्नुपरेको हो,’ गौतमले भने, ‘तर, मलाई नै खबर नगरी अरू साथीहरूले केन्द्रकै पत्रलाई आधार बनाएर अधिवेशन गरेको भन्ने फेसबुकमार्फत् थाहा पाएँ।’

नेपाल भलिबल संघको विधानअनुसार जिल्लामा जिल्ला संघ गठन हुने भएपनि गौतम अध्यक्ष रहेको संघ चाहिँ जिल्ला प्रशासनमा दर्ता भएको संघ हो। त्यही विधानअनुसार गठन भएको कार्य समितिका पदाधिकारी र सदस्यले विधानविपरीत कार्य गरेको भन्दै गौतमले उनीहरूलाई संघबाट निस्कासन गरेको घोषणा गरेका छन्।  

गौतमले संघ उपाध्यक्ष राजकुमार खाती, सचिव राजीव कडरिया, सहसचिव प्रमोनन्द दुलाल, कोषाध्यक्ष प्रवीण गुरुङ, सदस्यहरू गणेश खतिवडा, विपना कार्की र सागर घिमिरेलाई संघबाट निस्कासन गरिएको सार्वजनिक रूपमा लिखित जानकारी गराएका छन्। गौतमले इलाम नगरपालिकाका मेयर र केही वडाध्यक्षले समेत विधानविपरीत गठन भएको नयाँ समितिलाई वैधता दिने ‘दुस्प्रयास’ गरेको आरोप लगाएका छन्। उनले आफू यसबारे कानुनी लडाइँमा जाने पनि बताए।

असार ६ को अधिवेशनले प्रवीण गुरुङ अध्यक्ष रहेको जिल्ला भलिबल संघ गठन गरेको छ। अध्यक्ष गुरुङले आफूहरूले केन्द्रकै विधानअनुुसार नयाँ समिति गठन गरेको बताए। ‘गौतम अध्यक्ष रहेको जिल्ला भलिबल संघ जिल्लामा प्रतियोगिता आयोजना गर्न गठन गरिएको तदर्थ समितिमात्र हो,’ उनले भने, ‘हामीले केन्द्रको विधानअनुसार अहिले जिल्ला भलिबल संघ गठन गरेका छौं।’  

गुरुङले असार ३ को बैठकमा अधिवेशनको मिति तय गरेपछि अध्यक्ष गौतमले आफूखुसी स्थगित गरेको आरोप लगाए। ‘तोकिएको अधिवेशन स्थगित गरेर आफैं अधिवेशनमा नआउँदा विधानविपरीत हुने होइन,’ गुरुङले भने, ‘म अध्यक्ष भएको संघ चाहीँ नेपाल भलिबल संघ र खेलकुद महासंघमा पनि सूचीकृत छ।’ उनले गौतम अध्यक्ष रहेको संघका बहुमत पदाधिकारी र सदस्यसमेत आफूतिरै रहेकाले बहुमतको निर्णय नै मान्य हुने बताए।

प्रकाशित: ९ असार २०७९ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App