८ वैशाख २०८१ शनिबार
खेल

चेस ओलम्पियाडको छनोट खेल सुरु

भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाडको छनोट खेल बुधबारबाट सुरु भएको छ।

काठमाडौंको होटेल केसु होममा जारी छनोट प्रतियोगिताबाट महिलामा चार र पुरुषमा तीन खेलाडीले ४४औं ओलम्पियाडमा नेपालको तर्फबाट स्थान बनाउनेछन्। राष्ट्रिय च्याम्पियन र शीर्ष वरीयताका खेलाडी भने स्वतः उक्त ओलम्पियाडका लागि छनोट हुनेछन्। पुरुषमा वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका विवेक थिङ स्वतः छनोट भए। अब थप तीन जना पुरुष खेलाडीले जारी छनोट ओलम्पियाडको यात्रा तय गर्दै छन्। महिलातर्फ पनि वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छन्।

थप चार जना महिला खेलाडी यसै प्रतियोगिताबाट छनोट हुनेछन्। छनोट प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा १२ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्। छनोटको दोस्रो चरणका खेल समाप्त हुँदा पुरुषतर्फ मिलन लामा, क्षितिज भण्डारी, शूरवीर लामा, रूपेश जैसवाल र मनीष हमालले शीर्ष स्थानमा अग्रता लिएका छन्।

यी पाँचै खेलाडीले कुल १.५ अंक बटुले। पहिलो चरणमा निकेन कुसथा र रूपेशबीचको खेल बराबरीमै सकियो। त्यस्तै फिडे मास्टर क्षितिजले प्रकाश नेपाललाई हराए। अर्को खेलमा शूरवीरले सजिन मर्हजनमाथि जित हात पारे।

त्यस्तै मनीष हमालले कृष्ण थापा र मिलन लामाले सुशील चौधरीलाई हराए। दोस्रो चरणमा मिलन र क्षितिज तथा शूरवीर र मनीषका बीचको खेल बराबरीमै टुङ्गियो। महिलातर्फ भने विनीता कपाली र अनिशा न्यौपानेले शीर्षता कायम गरे। यी दुवैले दुई अंक बटुलेका छन्। अनिशाले दोस्रो चरणमा कृतिसरा अधिकारी तथा विनीताले पूजा भण्डारीलाई हराए। पहिलो चरणको खेलमा कृतिसरा अधिकारीले खुस्बु थापालाई हराइन्। शान्ति धिमालले आभा पुडासैनी र अनिशा न्यौपानेले पूर्णिमा गुरुङलाई हराए।

विनीता कपालीले पुनम प्रसाईंमाथि जित रचिन्। त्यस्तै सिन्दिरा जोशीले सन्तोषी विकबाट वाकओभर पाइन्। छनोट खेलको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाइँमन्त्री वसन्त मानन्धरले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रवीण भँडेलको उपस्थिति थियो।  

प्रकाशित: ९ असार २०७९ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App