७ वैशाख २०८१ शुक्रबार
खेल

बागलुङका पुनले जिते काँक्रेविहार म्याराथनको उपाधि

प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथनको उपाधि बागलुङका तिर्थकुमार पुनले चुमेका छन्। ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रतियोगितामा एक हजार प्रतियोगीलाई उछिन्दै पुनले उपाधि चुमेका हुन्।

२१ किलोमिटरको हाफ म्याराथन पुनले १ घण्टा नौ मिनेट १६ सेकेण्डमा पार गरे। पुनले नगद ७१ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। हाफ म्याराथनमा दोस्रो, चौथो, पाँचौं र छैटौं त्रिभूवन आर्मी क्लबका खेलाडीहरु भए। तेस्रो स्थान जुम्लाका राजन रोकायले प्राप्त गरे। दोस्रो भएका त्रिभूवन आर्मी क्लबका राजन रोकायले ४१ हजार नगद प्राप्त गरे।

तेस्रो भएका जुम्लाका राजनलृ ३१ हजार, चौथो भएका आर्मीका खगेन्द्रबहादुर भाटले २१ हजार, पाँचौं भएका सुवास कार्कीले १५ हजार र छैटौं भएका श्रीकाश राईले १० हजार नगद पुरस्कार प्राप्त गरे। यस्तै पाँच किलोमिटर छात्रातर्फको दौडमा विमला कार्की प्रथम भइन्। उनले २१ मिनेटमा पाँच किलोमिटरको दौड पूरा गरिन्।

प्रतियोगितामा छात्रातर्फ निशा मल्ल द्धितीय र लक्ष्मी शाही तृतीय भए। छात्रतर्फ पाँच किलोमिटर दौड प्रतियोगितामा विकाश विक प्रथम भए। प्रतियोगितामा अजय विक द्धितीय र प्रकाश बुढा तृतीय भए। छात्रछात्रातर्फ प्रथम हुनेले क्रमशः १० हजार, द्धितीय हुनेले ७ हजार र तृतीय हुनेले पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरे।

ओलम्पिक डेको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरे। उनले कर्णाली अब हिँड्ने मात्रै नभएर दौड्नुपर्ने आवश्यकता औल्याए। ‘म्याराथनमा मात्रै होइन्, सबै कुरामा कर्णाली अब दौडिनुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यस्ता प्रतियोगिताले कर्णालीको पहिचान दिन सघाउ पुर्‍याउने भएकाले हरेक वर्ष निरन्तरता दिन आवश्यक छ।’

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले कर्णालीहलाई खेलकुदका माध्यमबाट चिनाउन यस्ता प्रतियोगीता महत्वपूर्ण हुने बताए। उनले दुर्व्यसनमुक्त प्रदेश बनाउन युवाहरुलाई खेल क्षेत्रमा जोड्नुपर्ने आवश्यकता पनि औल्याए।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा भएको प्रतियोगितामा मुख्यमन्त्री जीवनबहादुर शाही, मन्त्रीहरु, सांसद, स्थानीय तहका जनप्रतिनिधिलगायत पनि दौडिएका थिए।

परिषद्का सदस्य–सचिव विश्वामित्र संज्यालले काँक्रेविहार म्याराथन हरेक वर्ष आयोजना गरिने बताए। ‘कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको म्याराथनको आयोजना गरेका छौं,’ उनले भने, ‘यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौं।’

प्रकाशित: ७ असार २०७९ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App