coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

एन्फा अध्यक्षमा निर्वाचित भएपछि अभिवादन गर्दै पंकज नेम्वाङ। तस्बिरः नागरिक

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।

सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेजमा सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। नेम्वाङले ४५ मत ल्याउँदा शेर्पाले ३९ मत पाए। अध्यक्ष पदकै अर्का प्रत्यासी राजीव पौडेलले भने एक मत पनि पाएनन्। कुल ८४ मताधिकारमध्ये त्यति नै मत खसेको थियो। खसेका सबै मत नै सदर भए। एन्फाको वरिष्ठ उपाध्यक्षमा पनि नेम्वाङ प्यानलकै वीरबहादुर खड्का निर्वाचित भएका छन्।  

वर्तमान उपाध्यक्षसमेत रहेका सिन्धुपाल्चोकका खड्काले शेर्पा प्यानलका शिक्षित पराजुलीलाई चार मत अन्तरले हराए। वीरबहादुरले ४४ मत र शिक्षितले ४० मत पाए। चार वर्षअघि शेर्पा पहिलोपटक एन्फा अध्यक्षमा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए। शेर्पा नेतृत्वकै कार्यसमितिले चार उपाध्यक्ष मध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो। लामो समयसम्म चेन्ज एन्फाको नारासहित तत्कालीन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङसँगै थिए।

तर, नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध बिग्रिन पुग्यो। नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि दुईबीच खटपट भयो। नेम्वाङले आफ्नो कार्यकाल शेर्पाविरुद्ध आरोप लगाएर नै बिताए। शेर्पामाथि निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप पंकज पक्षको छ। नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रीय सदस्यको असहयोग तथा कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित योजनाअनुरूप काम गर्न नसकिएको शेर्पा पक्षको भनाइ छ।  

वि.सं.२०७२ सालमा तत्कालीन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्ष प्रतिबन्धमा परे पछिको निर्वाचनमा पनि शेर्पा सो पदमा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए। त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागे। झापाको धुलाबारीका स्थायी बासिन्दा नेम्वाङ वि.सं. २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य भएका थिए। त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेको अनुभव नेम्वाङसँग छ।

त्यस्तै उपाध्यक्षमा नेम्वाङ प्यानलबाट तीन र शेर्पा प्यानलबाट एक जना निर्वाचित भएका छन्। नेम्वाङ प्यालनका विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र शेर्पा प्यानलबाट दीर्घबहादुर (कुमार) केसी निर्वाचित भए। लामाले ४८, खतिवडा र शाहीले समान ४७–४७ र केसीले ४३ मत ल्याए। पराजित भएका नेम्वाङ प्यानलका सुन्दर नरसिंह जोशीले ४१ र शेर्पा प्यानलका उपेन्द्रमान सिंहले ३७, विज्ञानराज शर्माले ३७ र रत्नकुमार श्रेष्ठले ३६ मत प्राप्त गरे। महिला सदस्यमा पेमा डोमा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका छन्।

लामाले ४३ मत र श्रेष्ठले ४६ पाइन्। महिला सदस्यमा उम्मेदवारी दिएका विन्द्रा देवान ३९ र विना श्रेष्ठ ४० मत मात्र पाउँदा पराजित भए। पराजित भएपछि पत्रकारसँगको कुराकानीमा शेर्पाले विजयी टिमलाई बधाई दिँदै फुटबलबाट आफू कहिल्यै टाढा नजाने बताएका छन्। ‘नयाँ टिमलाई सफलता मिलोस् मेरो शुभकामना छ। नेपाली फुटबल विगतभन्दा व्यवस्थित रूपमा अगाडि बढ्नुपर्छ,’शेर्पाले भने, ‘हामीले गत चार वर्षमा फुटबलको फाउन्डेसन तयार गर्ने प्रयत्न गर्‍यौं, त्यो पनि अझै बनिसकेको छैन। पहिले फाउन्डेसन बनाउनुपर्छ। बाह्रै महिना खेलाडीले खेल्ने, प्रशिक्षकले प्रशिक्षण दिने र रेफ्रीले काम गर्न पाउनुपर्छ।’ साथै उनले आफ्नो तर्फबाट वर्तमान नेतृत्वलाई कुनै अवरोध नहुने विश्वास पनि व्यक्त गरेका छन्।

‘मेरो तर्फबाट नेतृत्वलाई कुनै अवरोध हुँदैन,’हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पाले भने, ‘ए डिभिजन क्लबको अध्यक्षको हैसियतमा व्यावसायिक होस् भन्ने चाहना छ। अबको मेरो भूमिका क्लबलाई व्यावसायिक बनाउनेतर्फ केन्द्रित हुनेछ। म फुटबलबाट टाढा जाँदिनँ।’

प्रकाशित: ७ असार २०७९ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App