७ वैशाख २०८१ शुक्रबार
खेल

खराब ब्याटरिङका बावजुद विजयी सुरुआत

तुलनात्मक रूपमा कमजोर टोली भुटानसँग खराब ब्याटिङका बावजुद नेपालले शुक्रबार एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

शुक्रबार मलेसियाको युकेएम ओभलमा कमजोर मानिएको भुटानमाथि ५० रनको फराकिलो सफलता रच्दै च्याम्पियनसिपमा विजयी सुरुआत गरेको नेपालको ब्याटिङ भने निराशाजनक नै रह्यो। यद्यपि, नेपालले बलिङमा साथ पाएपछि झीनो लक्ष्य पनि रक्षा गर्न सफल भयो। प्रतियोगिताको शीर्ष दुईमा पुगेर एसिया कप महिला ट्वान्टी–२० क्रिकेट खेल्ने लक्ष्य राखेको नेपालको सुरुआत पनि सुखद भएको छ। ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै समेटिएपछि नेपालले पाँच राष्ट्र रहेको समूह ‘बी’ मा पहिलो जित निकाल्यो।

नेपाली बलरको धारिलो बलिङसामु भुटानकी एक खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सफल भइन्। नेपालकी स्पिनर संगीता राई एक्लैले सर्वाधिक चार विकेट लिइन्। सीता रानामगर र कविता कुँवरले समान दुई विकेट निकाले। २.५ ओभरमा ६ रन मात्र खर्चिएकी संगीता प्लेयर अफ दी म्याच भइन्। इन्दु बर्मा र अस्मिना कर्मचार्यको नाममा समान एक विकेट रह्यो। नेपालका सबै बलर किफायती रहे। भुटानले पावर प्लेमा नै तीन विकेट गुमायो। चौथो नम्बरमा ब्याटिङ गर्न आएकी छिरिङ जाङ्मोले इनिङ समाल्ने प्रयास गरिन्।

तर, पूर्वउपकप्तान सीताले छिरिङलाई १६ रनमा आउट गर्दै भुटानमाथि दबाबमा पारिन्। २८ बल खेलेकी छिरिङ बाउन्ड्री प्रहार गर्न भने असफल रहिन्। भुटानको इनिङमा एक मात्र बाउन्ड्री सोनम छोडेनले प्रहार गरिन्। उनी १५ बल खेल्दै ५ रनमा सीताद्वारा नै पवेलियन फर्किइन्।

त्यससँगै भुटान १५.१ ओभरमा ३९/७ को नाजुक अवस्थामा पुग्यो। त्यसपछिका ब्याटर पनि दोहोरो अंकमा रन नजोड्दै आउट भएपछि भुटान फराकिलो हार बेहोर्न बाध्य भयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुआत पनि निकै खराब रह्यो।

४.४ ओभरमा नै नेपालले शीर्ष तीन ब्याटर गुमाउन पुग्यो। तर, विकेटकिपर काजोल श्रेष्ठ, उपकप्तान इन्दु र कप्तान रुबिना क्षेत्रीले ससानो योगदान दिँदा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाउन सक्यो। ओपनरद्वय विन्दु रावल १ रनमा एलबिडब्लु हुँदा ज्योति पाण्डे शून्यमा नै रनआउट हुन पुगिन्। अनुभवी सीता पनि ४ रनमै आउट हुँदा नेपाल दबाबमा पर्‍यो। तर, उपकप्तान इन्दु र विकेटकिपर काजोलले चौथो विकेटका लागि ३२ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे।

भुटानकी टासी छेकीले १०.४ ओभरमा इन्दुलाई २० रनमा आउट गर्दै भुटानलाई चौथो सफलता दिलाइन्। त्यसपछि काजोलले पाँचौं विकेटका लागि कप्तान रुबिनासँग पनि ३२ रनकै साझेदारी गरिन्। १५.५ ओभरमा काजोल २६ रनमा रनआउट हुन पुगिन्। एक छेउबाट रुबिनाले इनिङ समाले पनि नेपाललाई सय रनको आँकडा पार गराउन सकिनन्। रुबिना २१ रन बनाउँदै नेपालको सातौं विकेटका रूपमा पवेलियन फर्किन्। नेपालको इनिङमा तीन मात्र बाउन्ड्री काजोल, रुबिना र इन्दुको नाममा रह्यो।

यी तीनबाहेक अन्य ब्याटर भुटानी बलरसँग निरीह रहँदै दोहोरो अंकमा रन बटुल्न असफल भए। भुटानकी सोनमले चार विकेट लिँदा अन्जु गुरुङ र टासी छेकीले १/१ विकेट निकाले। नेपालले तीनवटा विकेट रनआउटका रूपमा गुमाउन पुग्यो।

च्याम्पियनसिपमा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा खेल्नेछन्। अब नेपालले आफ्नो समूहको दोस्रो खेल शनिबार नै कुवेतसँग खेल्नेछ। नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन्। 

प्रकाशित: ४ असार २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App