coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रोएसियासँग विश्वविजेता स्तब्ध

क्रोएसियाका खेलाडीबीचबाट बल छलाउँदै फ्रान्सका खेलाडी।

सुरुको पाचौं मिनेटमा लुका मोडरिचले पेनाल्टीबाट गरेको गोल निर्णायक बनेपछि युइएफए नेसन्स लिगमा सोमबार क्रोएसियाले फ्रान्समाथि १–० को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई २–० हराएको छ। विश्वकप विजेता फ्रान्सले सोमबारको हारसँगै पछिल्ला चार खेलमध्येबाट कुनै खेलमा स्पष्ट जित निकाल्न सकेको छैन।

फ्रान्सविरुद्ध रोमाञ्चक जित निकाल्ने क्रममा भेट्रान क्रोएसियन कप्तान लुका मोडरिचले पेरिसमा आफ्नो टोलीलाई जित दिलाउन सफल भएका हुन्। फ्रान्सका लागि किलियन एम्बाप्पे वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे पनि जादु चल्न सकेन। साथै सुरुआती रोजाइमा रहेका करिम बेन्जिमाको प्रदर्शन पनि टोलीका लागि पर्याप्त भएन।

‘विश्वकप विजेतासँग हामी केही दबाबमा रहे पनि हामीले सम्हालिएको खेल प्रदर्शन गर्न सक्यौं। ८० हजार फ्रान्सेली समर्थकले साथ दिएको खेलमा पनि टोलीले स्वाभाविक खेल देखाउँदै बलियो टोलीको छाप देखाउन सक्यो,’ क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिजले भने, ‘विश्व च्याम्पियनसँग हाम्रो टोलीले अपेक्षाभन्दा धेरै स्तरीय खेल देखायो। यस्तै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छु ।’

फ्रान्स अघिल्लो संस्करणको नेसन्स लिग च्याम्पियन हो। पछिल्ला चार खेलमा जितविहीन फ्रान्सले चार खेलबाट समूहमा मात्र २ अंक जोडेको छ। उता जित निकालेको क्रोएसियाले भने समान चार खेलबाट ७ अंक बनाएको छ। क्रोएसिया समूहतालिकाको दोस्रो स्थानमा छ।

लगातार खेलमा सुखद नतिजा निकाल्न असफल फ्रान्सका प्रशिक्षक डेडियर डेसच्याम्पले स्वाभाविक खेल देखाउन नसक्दा पराजय भोग्नुपरेको बताए। ‘पछिल्ला खेलमा हामीले सुखद नतिजा निकाल्न सकेका छैनौं। स्वाभाविक खेलमा हामी चुकेका छौं,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘हामीलाई कुनै छुट छैन। टोलीमा धेरै पक्षमा सुधार गर्नुपर्ने देखिएको छ। खेलाडीमा खेलको मर्मअनुसारको अनुशासन पुगेको छैन। पछिल्ला पराजयले निकै दुखित छु।’

युइएफए नेसन्स कप अन्तर्गत सोमबार नै भएको अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई पराजित गर्दा पहिलो हाफमा गरेका दुई गोल पर्याप्त भएको हो। कोपेनहेगनमा सोमबार घरेलु टोलीको सहज जितमा जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले समान एकएक गोल गरे। खेलको २१औं मिनेटमा जोनास वाइन्डको गोलबाट डेनमार्कले सुरुआती अग्रता लिएको थियो।

उनले जोआकिमको पासमा गोल गर्न सफल भएका थिए। ३७औं मिनेटमा एन्ड्रिएस स्कभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। उनले जोनास वाइन्डको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै डेनमार्कको जितमा पर्यात बन्यो।

यो जितसँगै डेनमार्कको ४ खेलबाट ९ अंक भएको छ। डेनमार्क समूहतालिकाको शीर्ष स्थानमा छ। टोलीले नेसन्स लिगको अन्तिम चारमा छनोट हुने सम्भावना बलियो बनाएको छ। पराजित अस्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यस्तै नेसन्स लिग ‘बी’ अन्तर्गत समूह ‘२’ को खेलमा आइसल्यान्ड र इजरायलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे। 

प्रकाशित: १ असार २०७९ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App