७ वैशाख २०८१ शुक्रबार
खेल

कठिन जितका साथ साविक विजेता आर्मी फाइनलमा

आर्मीका दिनेश हेन्जनलाई म्यान अफ द म्याच प्रदान गरिँदै।

क्यामरुनको एभिनियर एफसीसंग कठिन जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लव मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ। शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको हो। निर्धारित समय एक/एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।

टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो। सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४/१४ प्रहार भएको थियो। आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्रै गोल भयो। अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो। खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातीमै आर्मीले अग्रता लिएको थियो।

आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन्। एभिनियरका डिफेण्डरको खुट्टामा अल्झिएको बललाई उनले गोलमा परिणत गरेका थिए। अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियर खेलमा फर्किएको थियो। एभिनियरका डिजिकाले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय यूथसंग प्रतिस्पर्धा गर्नेछ। विजय यूथले शुक्रबार भएको पहिलो सेमीफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ। खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।  

एभिनियरका प्रशिक्षक आशिक थापा मगरले पटक पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। ‘हामीले केही राम्रा मौका पाएका थियौं। त्यसलाई सदुपयोग गर्न सकेनौं। अन्तिम केही सेकेण्ड बाँकी रहँदा खेलमा फर्किएर पनि हार व्यहोर्न बाध्य भयौं,’ मगरले भने।

यता आर्मीका प्रशिक्षक नविन न्यौपानेले अन्तिममा डिफेन्स लाइन चुक्दा खेल बराबरीमा पुगेको र जितको लागि सडनडेथसम्म कुर्नुपरेको प्रतिक्रिया दिए। ‘शारीरिक रुपमा निकै बलियो एभिनियरलाई प्रेसर दिएर खेल्ने रणनीति थियो। त्यही अनुसार गोल पनि गरेका हौं। अन्तिममा बराबरी गोल खान पुग्यौं,’ उनले भने, ‘विदेशी टिमलाई आर्मी बाहेक कसैले हराउन सक्दैन भन्ने फेरि एकपटक प्रमाणित भएको छ।

उपाधि जित्ने गरी फाइनल खेल्नेछौं।’ १२ क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

प्रकाशित: २८ जेष्ठ २०७९ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App