७ वैशाख २०८१ शुक्रबार
खेल

अग्रता उल्ट्याउँदै शुक्र फाइनलमा

शुक्रबहादुर राईले बुधबार नीरज तामाङमाथि एक स्ट्रोकको अग्रता बनाउँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२१–०२२ च्याम्पियनसिपअन्तर्गत आठौं तथा अन्तिम प्रतिस्पर्धा रहेको प्रिमियर गल्फ च्याम्पियनसिपमा शुक्रले बुधबार अन्डर ६६ को यादगार प्रदर्शन गरेपछि साँघुरो अग्रतासहित फाइनल चरणको यात्रा तय गरेका हुन्।

उनले कुल ५४ होलको समाप्तिमा १६ अन्डर २०० स्कोर गरे। दोस्रो दिन शीर्ष स्थानमा रहेका नीरजले बुधबार तीन अन्डर ६९ को प्रदर्शन गरेपछि दोस्रोमा खुम्चिए। उनी कुल १५ अन्डर २०१ स्कोरमा छन्। एमेच्योर गल्फर वाङ्चेन धोन्डुपले यस प्रतियोगितामा आफ्नो उपस्थिति तेस्रो दिनसम्म पनि बलियो बनाए।

उनले दुई अन्डर ७० सहित कुल १२ अन्डर २०५ स्कोर बटुले। एमेच्योरतर्फ बलियो देखिएका वाङ्चेन समग्रमा पनि तेस्रो रहे। शुक्रले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डिज प्रहार गर्दै फ्रन्ट नाइनमा चार अन्डर ३२ बनाए। ब्याक नाइनमा दुई अन्डर ३४ को कार्डमा खस्किएका शुक्रले ११औं होलमा बोगी खेप्नुपरेको थियो। तर, १२औं, १६औं र १८औं होलमा पुनरागमन गर्दै शुक्रले आफ्नो कार्ड सुधार गरे। नीरजले भने पहिलो नाइनमा दुई बर्डिजसहित दुई अन्डर ३४ बटुल्दा ब्याक नाइनमा एक अन्डर ३५ मा खुम्चिए।

उनले १४औं होलमा बोगी खेप्नुपरेको थियो। वाङ्चेन भने फ्रन्ट नाइटमा १÷१ बर्डी र बोगीसहित इभन पारमा रहे। तर, १५औं र १८औं बर्डिज प्रहार गरेका वाङ्चेनले दुई अन्डर ३४ को सुधार गरे। भुवन नगरकोटी कुल १० अन्डर २०६ स्कोरका साथ शीर्ष तीन गल्फरलाई पछ्याइरहेका छन्। बुधबार भुवनको दुई अन्डर ७० को प्रदर्शन रह्यो। अर्का एमेच्योर महेन्द्र फगामीले पनि तेस्रो चार अन्डर ६८ को आशालाग्दो प्रदर्शनसहित आफूलाई प्रो. गल्फर पूर्ण शर्मासँगै संयुक्त रूपमा छैटौं स्थानमा उभ्याए।

यी दुवै कुल सात अन्डर २०९ को कार्डमा छन्। यस प्रतियोगितामा एमेच्योर गल्फरको चुनौती जारी रहँदा आरभ शाह प्रो. गल्फर भुवनकुमार रोक्कासँगै सातौं स्थानमा छन्। तेस्रो दिन आरभ एक अन्डर ७१ मा रहँदा भुवनको प्रदर्शन इभन पार ७२ मा रह्यो। त्यस्तै सूर्यप्रसाद शर्मा (६७) र रवि खड्का (७०) कुल चार अन्डर २१२ को कार्डका साथ नवौं स्थानमा छन्। ३६ होलको खेलसम्म आशलाग्दो प्रदर्शन गरेका सद्भाव आचार्यले तेस्रो दिन भने बिर्सनलायक नतिजा सामना गरे।

तेस्रो दिन ६ ओभर ७८ को खराब प्रदर्शनका बावजुद सद्भाव समग्रमा तीन अन्डर २१३ मा छन्। अघिल्लो दिन चौथो स्थानमा रहेका सद्भाव तेस्रो दिन ११औं स्थानमा झरे। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सुवास तामाङ कुल दुई अन्डर २१४ का १२औं स्थानमा छन्। उनले तेस्रो दिन एक अन्डर ७१ स्कोर गरे। त्यसै गरी धनबहादुर थापा र राजेन्द्र थापामगर क्रमशः १३औं र १४औं स्थानमा रहे। धन कुल अन्डर २१५ र राजेन्द्र इभन पार २१६ मा छन्। अब अन्तिम दिन गोकर्ण गल्फ क्लबमा कुल १८ होलको प्रतिस्पर्धापछि विजेता तय हुनेछ।

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App