१६ चैत्र २०८० शुक्रबार
खेल

धोन्डुपलाई पछि पारे नीरजले

नीरज तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्ष स्थानमा अग्रता बनाएका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा मंगलबार आठ अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गर्दै नीरजले अघिल्लो दिन शीर्ष स्थानमा रहेका वाङ्चेन धोन्डुपलाई दुई स्ट्रोकले पछि पारेका हुन्। कुल ३६ होलको खेल सम्पन्न हुँदा नीरजले १२ अन्डर १३२ स्कोर बटुले। नीरजले एमेच्योर गल्फर वाङचेन र शुक्रबहादुर राईमाथि दुई स्ट्रोकको अग्रता बनाए। दोस्रो दिन वाङ्चेनले तीन अन्डर ६९ को प्रदर्शन गरे। शुक्रले भने सात अन्डर ६५ स्कोर कार्डसहित दोस्रो दिन दोस्रो ठूलो सफलता पाए। १५ वर्षे एमेच्योर गल्फर सद्भाव आचार्य पनि चौथो स्थानमा उक्लिए।

उनले दोस्रो दिन ६ अन्डर ६६ सहित कुल ९ अन्डर १ सय ३५ स्कोर बटुले। युवा स्टार सद्भाव नेपाल नम्बर एक प्रो.गल्फर भुवन नगरकोटीभन्दा एक स्ट्रोकले अगाडि छन्। भुवनले दोस्रो दिन पनि चार अन्डर ६८ को प्रदर्शन गरे। पूर्ण शर्मा ६ अन्डर ६७ सहित छैटौं स्थानमा रहे। उनले मंगलबार पाँच अन्डर ६७ को प्रदर्शन गर्दै सुधार गरे। भुवनकुमार रोक्का उनीभन्दा एक स्ट्रोकले पछि छन्। भुवनले चार अन्डर ६८ सहित दोस्रो दिनको अन्त्य गरे। प्रो.धनबहादुर थापा र एमेच्योर आरभ शाह संयुक्त आठौं स्थानमा रहे। यी दुवै कुल चार अन्डर १४० स्कोरमा छन्।

धनले ६ अन्डर ६६ र आरभले तीन अन्डर ६९ सहित मंगलबारको अन्त्य गरे। त्यस्तै रामे मगर (७१) र एमेच्योर गल्फर महेन्द्र फगामी (७२) संयुक्त रूपमा दशौं स्थानमा छन्। दुवैले तीन अन्डर १४१ बटुले। विष्णु शर्मा (७०) र रवि खड्का (७४) कुल दुई अन्डर १४२ स्कोरसहित १२औं स्थानमा रहे। पछिल्ला समय लयमा रहेका सुवास तामाङ मंगलबार एक ओभर ७३ को खराब प्रदर्शनसहित १४औं स्थानमा रहे। १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवास कुल एक अन्डर १४३ स्कोरमा छन्।  

६ ओभर १५० मा कट नियम लागू हुँदा २२ प्रो गल्फर र आठ एमेच्योर गल्फरले दोस्रो चरणमा स्थान बनाए। थप तीन एमेच्योर गल्फर टासी छिरिङ, साम दब्लार्ड र विजय श्रेष्ठ इनहासले दोस्रो चरणमा स्थान बनाए। नेपाल प्रोफेसनल गल्फर संघको आयोजनामा भएको प्रतियोगिता ४३ प्रो. र ११ एमेच्योरसहित कुल ५४ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत यो आठौं तथा अन्तिम प्रतिस्पर्धा हो। यस प्रतियोगिताको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुने गल्फरले एक लाख १० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: ११ जेष्ठ २०७९ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App