coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद सर्‍योः असोज २८ देखि नयाँ मिति

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आयोजना फास्ट ट्य्राकमार्फत गर्ने योजना बनाए पनि सम्भव नभएपछि मिति सार्नुपरेको बताएका छन्।

सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी गराए। नवौं राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय थियो। तथापि, तयारीका लागि समय अभाव र फास्ट ट्य्राकमार्पmत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सम्भव नभएकाले नयाँ मिति तय गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सार्वजनिक खरिद ऐन पालना गरेर नै नवौं सम्पन्न गर्ने उद्देश्यले नयाँ मिति तय गरिएको उल्लेख गरेका छन्।

मंगलबारै बसेको मन्त्रिपरिषद् बैठकले असोज–कात्तिकमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। ‘सार्वजनिक खरिद ऐन पालना गर्दै कामकाज अगाडि बढाउनुपर्ने भएकाले समय अपुग भयो। गण्डकी प्रदेशबाट पनि तयारी समय छोटो भएकाले थप समय माग भयो,’ मन्त्री गहतराजले भने, ‘मधेस प्रदेशमा पनि खेलकुद परिषद् गठन भई नसकेकोले तयारी अगाडि बढाउन कठिनाइ भएको छ। तीलगायत अन्य कारणले गर्दा पनि नवौं राष्ट्रिय खेलकुद केही समय पछि सार्नुपरेको हो।’ मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदको धेरै महत्वपूर्ण काम अगाडि बढिसकेको उल्लेख गर्दै मिति सरे पनि तयारीमा कुनै कमी नहुने प्रतिबद्धता जनाए।  

‘जिल्ला र प्रदेशका काम भइरहन्छ। प्रदेशलाई ४९ लाख रूपैयाँ र प्राविधिक सहयोग दिने निर्णय भइसकेको छ,’ मन्त्री गहतराजले भने, ‘राष्ट्रिय खेलकुद आयोजनामा भने अर्थ मन्त्रालयले ६० करोड नबढाएर खर्च गर्न निर्देशन दिएको छ।’ राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको तयारीसम्बन्धी राखेपको १ सय १२औं बोर्ड बैठक बसी निर्देशिका तथा बजेटको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै लोगो, मस्कट र नारा छनोट गरी सार्वजनिक भइसकेको स्मरण गराए। 

टिम छनोटका लागि पत्राचारलगायत कार्य सम्पादन भइसकेकाले नवौं राष्ट्रिय खेलकुदका प्रारम्भिक चरणका काम भइरहेको घिसिङको भनाइ छ। पत्रकार सम्मेलनमा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका विभागीय प्रमुख मधुसूदन बस्नेतलगायत उपस्थित थिए।

प्रकाशित: ११ जेष्ठ २०७९ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App