coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रत्येक प्रदेशमा सुविधा सम्पन्न रंगशाला

सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा हरेक प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माणको नीति ल्याइने बताएकी हुन्। मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता, बीमा, आकस्मिक सहयोगलगायतका प्रोत्साहनको व्यवस्था गरिने, प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

‘प्रत्येक विद्यालयमा खेलकुद प्रतियोगितासमेत आयोजना गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने, उच्च भूभागीय खेलकुद तालिम केन्द्र निर्माण गरिनेछ।’

सरकारले आउँदो आर्थिक वर्षमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पु‍र्‍याउन समन्वय र सहजीकरण गर्ने पनि घोषणा गरेको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम अगाडि बढाउन नसक्ने भन्दै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। विगत एक वर्षदेखि रंगशाला अलपत्र छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा रंगशालाका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने भएकोे छ।

यस्तै, नवलपरासीको गैँडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ। खेलाडीको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने, खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी गराउने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ।

खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने तथा नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद कार्यक्रमअन्तर्गत शारीरिक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ११ जेष्ठ २०७९ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App