७ वैशाख २०८१ शुक्रबार
खेल

एमबाप्पेको निर्णयप्रति एन्सेलोट्टीद्वारा सम्मान

स्पेनिस ला लिगा च्याम्पियन रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले मंगलबार किलियन एमबाप्पेको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मै बस्ने निर्णयप्रति सम्मान रहेको बताएका छन्। साथै एन्सेलोट्टीले आफ्नो टोली आगामी शनिबार लिभरपुलविरुद्ध सेभियामा हुने च्याम्पियन्स लिग फाइनलमा केन्द्रित रहेको बताए।

एमबाप्पे र पिएसजीबीचको सम्झौता यसै सिजनपछि सकिने भएकाले रियाल यस पटक भने उनलाई भित्र्याउने लक्ष्य पूरा हुनेमा विश्वस्त रहेको थियो। एमबाप्पेले पनि आफ्नो आगामी गन्तव्यका बारेमा निर्णय गरिसकेको र केही दिनमै घोषणा गर्ने जनाएसँगै रियाल उनको सान्टियागो बर्नाबेउको यात्रालाई लिएर थप उत्साही बनेको थियो। तर एमबाप्पेले शनिबार पिएसजीसँगको सम्झौता तीन वर्षका लागि नवीकरण गरेपछि रियालको लक्ष्यले पूर्णता पाएन ।

रियाल १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ। एन्सेलोट्टीले कुनै एक खेलाडीको अनुबन्धनको पक्षलाई लिएर आफ्नो टोली निराश नभएको बातए ।

‘हामीले पछिल्ला केही सिजनदेखि नै एमबाप्पेलाई भित्र्याउन चाहेका हौं र यो कुरा लुकाउनुपर्छ जस्तो मलाई लाग्दैन,’ एन्सेलोट्टीले भने, ‘यस पटक पनि उनलाई सान्टियागो बर्नाबेउमा भित्र्याउन सकेनाैँ। तर उनले पिएसजीमै बस्ने निर्णय लिए। उनको निर्णयप्रति मेरो सम्मान छ। मेरा खेलाडी यो एउटा अनुबन्धनलाई लिएर आत्तिएका छैनन। उनीहरू शनिबार हुने लिभरपुलविरुद्धको खेलमा केन्द्रित छन्।’

एन्सेलोट्टीले क्लब व्यवस्थापन र एमबाप्पेबीच छलफल भए पनि आफू स्वयम्ले भने उनीसँग कुनै संवाद नगरेको बताए।

‘मेैले क्लब व्यवस्थापनलाई सुझाव दिने हो। म आफैँ खेलाडीसँग अनुबन्धनका बारेमा सवाद गर्न जाने होइन,’ एन्सेलोट्टीले भने। रियालले गत महिना चार खेलअगावै ला लिगाको उपाधि जितेको थियो। इङ्लिस प्रिमियर लिगमा भने लिभरपुलले म्यानचेस्टर सिटीसँग १ अंकले पछि परेसँगै एकै सिजन चार उपाधि जित्ने कीर्तिमानबाट विमुख भएको थियो।

लिभरपुलले यसअघि इङ्लिस लिग कप र एफए कपको उपाधि जितिसकेको छ। लिभरपुलका लागि थियागो अल्सान्ट्रा र फाबिन्होको चोट भने महँगो साबित हुन सक्छ। त्यस्तै मोहम्मद सालाह र भर्जिल भान डाइक पनि पूर्ण रूपमा फिट छैनन्।

एन्सेलोट्टीले आफ्नो सबै खेलाडी पूर्ण रूपमा फिट रहेको बताए। सिजनको अधिंकाश खेलमा बेन्चमै रहेका गारेथ बेल र इडेन हाजार्ड पनि मंगलबार अभ्यासमा देखिएका थिए।

‘हाजार्डले अभ्यासमा राम्रो गरिरहेका छन्। उनी फाइनलमा मैदान उत्रन सक्छन्,’ एन्सेलोट्टीले भने, ‘बेल पनि मैदान उत्रन सक्छन्। टोलीको तयारी राम्रो छ ।’ 

प्रकाशित: ११ जेष्ठ २०७९ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App