पाँच बलको अन्तरमा चार विकेट लिँदै नेपालले मंगलबार युगान्डासँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा जितको आशा जगाए पनि एक विकेटको साँघुरो हार सामना गरेको छ।
अन्तिम दुई ओभरमा चार विकेट गुमाए पनि युगान्डाले १ सय २ रनको लक्ष्य एक बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लगातार दोस्रो खेलमा पनि नेपालले ब्याटिङ र फिल्डिङमा खराब प्रदर्शन गरेपछि दोस्रो खेल पनि गुमायो। यससँगै घरेलु टोली पाँच खेलको ट्वान्टी–२० शृंखलामा २–० ले पछि परिसकेको छ। तीव्र गतिकी बलर सबनम राईले १९औं ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएपछि नेपालको जित सम्भावना देखिएको थियो।
लगत्तै डेथ ओभरमा कविता कुँवर बलिङ गर्न आइन्। जहाँ पाहुना टोलीलाई जितका लागि ६ रन आवश्यक थियो। कविताले पहिलो बलमा वाइड दिइन्। तर, त्यसपछि उनले लगातार दुई विकेट लिइन्। त्यससँगै युगान्डालाई चार बलमा चार रन आवश्यक भयो। यद्यपि, नेपाली फिल्डर सतर्क नहुँदा युगान्डाले छिटो रन निकाल्दै एक बलअगावै जित निकाल्यो। युगान्डाको जितमा मुसामालीले सर्वाधिक ३० रन, फ्रान्कलिन नाजुम्बाले १९ रन र जानेत एमबाबाजीले १६ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पहिलो ओभरको चौथो बलमा नै ओपनर केभिन एविनोलाई गुमाए पनि युगान्डाले सामान्य लक्ष्य भेट्टायो। नेपालको बलिङमा सबनमले चार ओभरमा दुई विकेट लिँदा २३ रन खचिइन्। कविताले पनि ३.५ ओभरमा दुई विकेट लिँदै २३ रन मात्र खर्चिइन्। सीता रानामगर र रुबिना क्षेत्रले समान १/१ विकेट लिँदा थप दुई विकेट रनआउटका रूपमा प्राप्त भयो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेल्दै सात विकेट गुमाए पनि १ सय १ रन मात्र बनाउन सक्यो। दोस्रो खेलमा पनि नेपालले खराब ब्याटिङ सामना गर्यो।
युगान्डाको बलिङमा दबाब बेहोरेको नेपालले ४.३ ओभरमा १४ रन बटुल्दा पहिलो विकेट गुमायो। उपकप्तान तथा ओपनर इन्दु बर्मा ५ रनमा नै बोल्ड भइन्। निकै सुस्त ब्याटिङ गरेको नेपालका लागि विन्दु रावलले सर्वाधिक २६ रन र सरिता मगरले २२ रन बनाए। सातौं नम्बरमा ब्याटिङ गर्न आएकी कप्तान रुबिना १७ रनमा रनआउट भइन्।
संयुक्त अरब इमिरेट्स (युएई) मा फेयर ब्रेक क्रिकेट प्रतियोगिता खेलेर फर्किएकी सीता रानामगर ६ रनमा नै आउट हुन पुगिन्। युगान्डाको बलिङमा जानेतले दुई विकेट लिँदा इभेलिन इनिइपो, कोन्सी अवेको र रिता मुसामालीले १/१ विकेट निकाले। नेपालले बिहीबार तेस्रो खेल खेल्नेछ।
नयाँ कप्तान आउँदा अझै राम्रो: सीता
नेपालको उपकप्तानबाट आफूलाई हटाइएपछि सिनियर खेलाडी सीता रानामगरले सञ्चार माध्यमबाट उक्त जानकारी पाउँदा निकै दुःख लागेको बताएकी छन्।
नेपाल क्रिकेट संघ (क्यान) को यसै शृंखलामार्फत नेपाली महिला क्रिकेटको पहिलो ब्याचकी खेलाडी सीताको स्थानमा इन्दु बर्मालाई नेपालको उपकप्तानी जिम्मेवारी सुम्पिएको थियो। ‘युएईमा फाइनल खेलअगाडि मैले त्यो जानकारी पाएँ। त्यो सुन्दा दुःख लाग्यो।
बाहिरबाट सुन्नुपर्दा क्यान व्यावसायिक भएन भन्ने जस्तो महसुस भयो। तथापि पछि क्यानबाट पनि जानकारी पाएँ,’ सीताले भनिन्, ‘युवा खेलाडीलाई अवसर दिन क्यानले त्यो निर्णय गरेको होला। अर्को नयाँ खेलाडी ल्याएर कप्तान र उपकप्तान बनाए अझै राम्रो हुन्थ्यो। यो घरेलु मैदानमा खेलेको हो। त्यसैले पछिको लागि अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ।’
यद्यपि, आफूले कुनै समय नेपालको कप्तानी गर्ने सपना देखेको सीताले खुलासा गरिन्। ‘मैले एपिएफको कप्तानीबाट राम्रै नतिजा दिइरहेको छु। एपिएफले पनि मेरो कदर गरिरहेको छ। नेपालको कप्तानी गर्ने सपना पनि थियो र आफू दाबेदार छु भन्ने पनि लाग्थ्यो,’ सीताले भनिन्, ‘तर, मैले क्यानको निर्णय स्विकार्नुपर्छ र म खुसी नै छु। अब सिनियर खेलाडीको रूपमा खेल्छु।’
प्रकाशित: ४ जेष्ठ २०७९ ०७:४५ बुधबार